शीर्षकहरू

नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल

नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बीबी माइनस स्कोर प्राप्त गर्न सफल भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले सार्वभौम क्रेडिट रेटिङ्गलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने सकिने बताए । क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मुल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन उनको भनाइ छ ।

‘सार्वभौम क्रेडिट रेटिङ्गलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने गर्दछन्। यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने गर्दछ ।

यस अर्थमा सार्वभौम क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मुल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिन्छ । नेपालको सार्वभौम क्रेडिट रेटिङ्गले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । सार्वभौम क्रेडिट रेटिङ्ग विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत हो । यसले अर्थतन्त्रको भावि दिशा र संभावनाको आंकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पुर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ’ उनले भने  ।      

उनका अनुसार क्रेडिट रेटिङ्गको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ्ग नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक छ । 

‘क्रेडिट रेटिङ्गको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ्ग नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना गरेको छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नु पर्ने अवस्थाको पूर्व तयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङ्गलाई लिन सकिन्छ,’ उनले भने, ‘नेपालको सार्वभौम क्रेडिट रेटिङ्गमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावि दिनमा नेपालको पुर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।’