काठमाडौं । नेपालको सार्वभौम क्रेडिट रेटिङले विदेशबाट ल्याइने ऋणको लागत कम हुने भएको छ । नेपालले पाएको रेटिङ अनुसार आगामी दिनमा १.५ प्रतिशत कम हुने स्टान्डर्ड चार्टर्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखशमशेर जबराले बताए ।
उनका अनुसार हालसम्म विदेशी ऋणदाताले ऋणमा जोखिम प्रिमियम वापत ४ देखि ४.५ प्रतिशतसम्म थप शुल्क लिदै आएका छन् । यो भनेको सिसिसि रेटिङ पाएका मुलुकले भुक्तानी गर्ने प्रिमियम हो । ‘हाम्रो मुलुकको क्रेडिट रेटिङ नभएकोले विदेशी ऋणदाताले नेपालको रेटिङ सिसिसि अनुमान गरी जोखिम प्रिमियम लिदै आएका थिए । तर, उनीहरुले गरेको अनुमान भन्दा हाम्रो रेटिङग राम्रो आएको छ । त्यसले यस्तो शुल्क पनि कम हुनेछ । यसले समग्र लागत घटाउने छ,’ उनले भने । यद्यपि आजको भोलि नै त घट्न सम्भव नहोला । क्रमश घट्दै जाने उनले बताए ।
नेपालको कन्ट्री रेटिङमा स्टान्डर्ड चार्टर्ड बैंक सल्लाहकारको भूमिकामा थियो ।
नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर पाएको छ । नेपालले पहिलो पटक क्रेडिट रेटिङ गराएको हो । विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ ले नेपालको ‘रेटिङ’ गरेको हो ।