काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आफैँ सडक प्रदर्शनमा उत्रिएपछि सर्वसाधारणले भने उक्त प्रदर्शनको आलोचना गरेका छन् । एमालेको प्रदर्शनका कारण काठमाडौँका विभिन्न स्थानमा ट्राफिक जाम भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् । लेखक रमेश सायन लेख्छन्, '
सरकार शक्तिमै बसेर शक्ति प्रदर्शन गर्नुपर्ने गरी कमजोर भइसकेको छ। र आजको शक्ति प्रदर्शनमा जनता नगैदिने हो भने आफ्नो औकात देख्ने थियो। तर,हामी जनता यस्ता भइसकेका छौं देखाउनुपर्ने ठाउँमा कसैको औकात देखाउदैनौं र सधैँ पछुताइरहन्छौँ। चिन्दै गरौँ। बुझ्दै गरौं। सरकारलाई उसको औकात देखाउने अवसर बेलामौकामा मात्र आउँछ।'
यस्तै होटल व्यवसायी अमृत बानियाँले सामाजिक सञ्जालमा लेखेका छन्, 'सरकार ढल्ने छटपटिको उपज बाहेक केही होइन कथित जागरण सभा ।'