शीर्षकहरू

नेपालले कन्ट्री रेटिङमा पायो बीबी माइनस

नेपालले कन्ट्री रेटिङमा पायो बीबी माइनस

काठमाडौँ । नेपालको पहिलोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएको छ । फिच क्रेडिट रेटिङ कम्पनीले गरेको रेटिङअनुसार नेपालले बीबी माइनस रेटिङ पाएको छ ।

यो भनेको 'नन इन्भेस्टमेन्ट ग्रेड स्पेकुलेटिभ' ग्रेड हो । अर्थात् लगानीका लागि उच्च जोखिमअन्तर्गत पर्दछ । यसमध्ये बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो र बी माइनससम्मको रेटिङलाई भने उच्च जोखिमअन्तर्गत मान्ने गरिएको छ ।

फिचले गत असोज पहिलो सातादेखि नेपालको कन्ट्री रेटिङ सुरु गरेको थियो । 

क्रेडिट रेटिङले लगानी गर्ने वातावरण, ऋण भुक्तान गर्ने अवस्था, लगानी सुरक्षा, प्रतिफल, वित्तीय जोखिम, पारदर्शिता, कानुनी आधार, राजनीतिक तथा प्रशासनिक क्षेत्रलगायतको जानकारी दिन्छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक यथार्थ देखिने हुँदा लगानी गर्दा प्रतिफल कस्तो आउँछ भनेर अध्ययनका लागि सहयोग गर्ने भएकाले  कन्ट्री रेटिङले नेपालमा आउने अन्तर्राष्ट्रिय लगानीको मात्रा तय गर्नेछ । 

पछिल्लो एक दशकयता कन्ट्री रेटिङबारे चर्चा भैरहे पनि रेटिङ हुन सकेको थिएन । २०७५–७६ मा बजेटमा समेटेर फिचलाई मुलुकको क्रेडिट रेटिङको जिम्मा दिइएकोमा त्यसबेला फैलिएको कोरोना महामारीका कारण स्थगित भएको थियो ।

सरकारले गत आव र चालु आवको बजेटमा पनि कन्ट्री रेटिङ गर्ने विषय समेटेको थियो । कन्ट्री रेटिङको पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गर्ने तयारी अर्थमन्त्रालयले गरेको छ ।

null