काठमाडौँ । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
इन्डियाली स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथी दिने भए सोही दर्ज्यानी चिनियाँ जनमुक्ति सेनाका प्रमुखलाई पनि दिनुपर्यो भनेर विज्ञप्ति निकालेका उनलाई ग्रेटर नेपालको कार्यालयनजिकैबाट पक्राउ गरिएको हो ।
इन्डियाली सेनाध्यक्षको लिखित रुपमा विरोध जनाएपछि आफूलाई पक्राउ गरिएको उनले जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
त्यसको विरोधमा ग्रेटर नेपालका अभियन्ता नेपालले विज्ञप्ति निकालेका थिए । विज्ञप्तिमा भनिएको थियो, 'इन्डिया नेपालको सिमाना जोडिएको देश भएकाले त्यस देशसँगको सैनिक सम्बन्धले विशेष अर्थ राख्छ नै, तर सिमाना जोडिएका दुईवटा देश चीन र इन्डियामध्ये इन्डियासँग मात्रै विशेष सैनिक सम्बन्ध रास्ता मित्रभेद गरेको ठहरिन्छ भन्नेतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने हो इन्डियाको स्थल सेनाका प्रधान सेनापतिलाई मात्र नेपाली सेनाको महारथीको विभूषणले सुशोभित गर्नेपर्ने बाध्यता के हो भन्ने जान्न सबैजसो नेपाली जनता उत्सुक छन् तसर्थ सरकारले सैनिक सम्बन्धका प्रत्येक विषयमा इन्डिया र चीन दुवै देशसँग समान व्यवहार नगर्नुको कारण खुलाउनुपर्दछ। यस सम्बन्धमा निर्णयमा पुग्नैपर्ने बुँदा के हो भने या त नेपाल र इन्डियाका प्रधान सेनापतिले एकअर्का देशका सेनाको महारथी पद ग्रहण गर्ने परम्पराको अन्त्य हुनुपर्छ कि त जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका अध्यक्षलाई पनि नेपाली सेनाको महारथीका दयनीले सुशोभित गर्नुपर्छ । तबमात्र नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको पुष्टि हुनेछ ।'