एजेन्सी । भारतको महाराष्ट्रको यस पटकको चुनाव निकै रोचक हुने भएको छ । अधिकांश एक्जिट पोलमा महायुती गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । त्यस्तै, महाविकास अघाडी र महायुती गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने गरेको धेरै एक्जिट पोल छन् । यदि यस चुनावमा धेरैजसो एक्जिट पोल सही साबित भएमा यस पटक पनि महाराष्ट्रमा निर्दलीयले किंग मेकरको भूमिका खेल्न सक्छन्।
विभिन्न एक्जिट पोलले २ देखि २५ सिटमा स्वतन्त्र उम्मेदवारले जित्ने प्रक्षेपण गरेका छन् । बुधवार आएको एक्जिट पोललाई नतिजामा रूपान्तरण गरियो भने महाराष्ट्रमा कस्तो किसिमको राजनीतिक समीकरण बन्न सक्छ भन्ने अनुमान लगाउन गा¥हो पर्ने देखिएको छ ।
मतदान प्रक्रिया सकिएपछि अहिले विभिन्न गठबन्धनले आ–आफ्नो जितको दाबी गरिरहेका छन् । महायुती गठबन्धनमा आवद्ध दलहरुले यो चुनावमा लाडली बहन योजना आफ्नो लागि गेम चेन्जर सावित भएको र यसको प्रभाव चुनावी नतिजामा पक्कै देखिने बताउँछन् ।
यसपटकको निर्वाचनमा पूर्ण बहुमतका साथ सत्तामा फर्किने महायुतीको भनाइ छ । लाडली बहन योजनाअन्तर्गत महिलाको खातामा सिधै पैसा जम्मा गर्ने घोषणा उनीहरूका लागि ठूलो कुरा भएको महायुती गठबन्धनको विश्वास छ ।