काठमाडौं । ललितपुरको भैँसेपाटीमा प्रहरी समेतको मिलेमतोमा भएको हनी ट्रयाप घटनाको अनुसन्धान टुंगिएको छ । नेपाल प्रहरीको सीआईबीको अनुसन्धान प्रतिवेदनमा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ । यसमध्ये चारजना पक्राउ छन् भने प्रहरी निरीक्षक बिनुकुमारी शाही र दर्शन पोखरेल फरार छन् ।
हनी ट्रयापको गिरोहसँग कनेक्सन देखिएपछि एसपी थापामाथि पनि सीआईबीले अनुसन्धान गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी थापालाई त्यहाँबाट प्रहरी प्रधान कार्यालय तानिएको थियो।
घटना सार्वजनिक भएपछि उनलाई प्रभागको प्रमुखबाट हटाइएको थियो। यस्तै जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन समिति पनि बनाएको थियो। छानबिन समितिले सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित भएकी थिइनन्। पटकपटक बोलाउँदा पनि इन्कार गरेपछि शाहीको समेत संलग्नता देखिएको र आवश्यक कानुनी कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको थियो।
समितिको सिफारिसपछि जिल्ला प्रहरी परिसर ललितपुरले शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै शाही भने फरार भएकी थिइन्।
उनलाई सीआईबीले समेत फेला पार्न नसकेकाले फरारकै सूचीमा राखेर प्रतिवादी बनाउन राय दिएको एआईजी थापाले नेपालखबरलाई बताए।
प्रहरी निरीक्षक शाहीले आफ्ना सवारी चालकमार्फत रकम लिएको आरोप छ। शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई भने पक्राउ गरेरै अनुसन्धान गरिएको थियो। हाल हिरासतमा राखिएका हमाल पनि प्रहरीबाट निलम्बित छन्।
सुनसरीको इटहरीकी सुस्मा विक, इटहरीकै ताज इस्लाम र भीमादेवी थापालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। उनीहरूलाई पनि प्रतिवादी बनाउन राय सीआईबीको छ।
एक व्यवसायीलाई भैँसेपाटी प्रभागमा ल्याएर रकम बार्गेनिङ गरेको र उनीसँग ३० लाख रुपैयाँ लिएर छाडिएको आरोप छ। गिरोहले भीमादेवीको खातामा रकम जम्मा गरेको थियो। रकम जम्मा गर्न प्रहरी पनि साथै गएको दाबी गरिएको थियो। अनुसन्धानबाट यी कुराको पुष्टि भएको सीआईबीको भनाइ छ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लोकबहादुर कटुवालले सीआईबीबाट अनुसन्धान प्रतिवेदन आइसकेको बताउँदै उक्त प्रतिवेदन अध्ययनपछि मुद्दाबारे निर्णय लिने बताए।
‘सीआईबीले आज प्रतिवेदन बुझाएको छ। मैले हेर्न पाएको छैन। अब प्रतिवेदन अध्ययन गरेर अभियोजन बारे निर्णय हुन्छ,’ जिल्ला न्यायाधिवक्ता कटुवालले भने।