काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, अन्नपूर्ण समूह र भारतीय कम्पनी लिटल एन्जल्सको संयुक्त लगानीमा बन्ने हालसम्मकै नेपालकै ठूलो होटल अन्नपूर्ण स्क्वायरको निर्माण अघि बढेको छ ।
६ अर्ब रुपैयाँ लगानीमा यसअघि अन्नपूर्ण होटल रहेकै स्थानमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण हुन लागेको हो । सोमबार भाटभटेनीका सञ्चालक गुरुङले भूमिपूजासहित शिलान्यास गरेर होटल निर्माणको थालनी गरे ।
होटेलको भवन पुनर्निर्माणपछि २०८५ वैशाख १ गतेबाट यो पुन: सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु गरिएको हो । साविकको होटेल रहेकै ठाउँमा पाँचतारे होटेलको संरचना पुनर्निर्माण भएपछि भारतीय लग्जरी आईटीसी होटेलले सेवा सञ्चालन गर्नेछ ।
यस कम्पनीले ३१८ कोठाको पाँचतारे होटेल, ३० सर्भिस अपार्टमेन्ट र चारओटा सम्मेलनस्थल, एउटा सपिङ आर्केड र एउटा मनोरञ्जन क्षेत्र पनि विकास गर्नेछ । उक्त काम २०८४ सालको चैत मसान्तसम्म सक्ने लक्ष्य रहेको र त्यसपछि आईटीसी होटेल्सले होटेलको दैनन्दिन सेवा सञ्चालन, ब्रान्डिङ, पाहुनाको अनुभव राम्रो बनाउनेलगायत विश्वप्रसिद्ध आतिथि सत्कार उपलब्ध गराउने तयारी गरिएको छ ।
उक्त होटेल सञ्चालनका लागि स्थापित अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होटेल्सबीच गएको असोज १७ गते सम्झौता भएको थियो ।