शीर्षकहरू

अबदेखि लघुबीमा कम्पनीले पनि कृषि बीमा व्यवसाय गर्न पाउने

अबदेखि लघुबीमा कम्पनीले पनि कृषि बीमा व्यवसाय गर्न पाउने

काठमाडौँ । अब‍देखि लघुबीमा कम्पनीले पनि कृषि बीमा व्यवसाय गर्न पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको बाली तथा पशुधन बीमको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ बमोजिम लघुबीमा कम्पनीलाई कृषि बीमा व्यवसाय गर्न दिइएको प्राधिकरणले जनाएको छ । 

कृषि बीमा व्यवसाय गर्ने विषयमा भएको छलफलमा कम्पनीहरूलाई पूर्वाधार निर्माण गर्न आग्रह गरिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । ‘कृषि बीमाका लागि कम्पनीहरूलाई सफ्टवेयर, प्राविधिक, एजेण्ट, पोलिसी अध्ययन र निर्माणलगायत अन्य व्यवस्था गर्न भनेको छौँ,’ उनले भने । कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरेपछि बीमा गर्न पाउने छन् । 

हाल नेपालमा ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ४ वटा निर्जीवन कम्पनी छन् । उक्त ४ वटा निर्जीवन बीमा कम्पनीले कृषि बीमा गर्न पाउने छन् । 

कार्तिक महिनाको पहिलो साता ४ वटा लघु निर्जीवन कम्पनी र प्राधिकरणबीच यसबारेमा छलफल भएको थियो । छलफलमा उनीहरूलाई पूर्वाधार तयार गरेर आउन सुझाव दिएको हो । 

प्राधिकरणका अनुसार लघु बीमा कम्पनीहरूले ५० लाख रुपैयाँसम्मको कृषि बीमा पोलिसी बिक्री गर्न पाउने छन् । कृषि तथा पशुपंक्षी बीमा प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधिअनसार एक करोडभन्दा धेरै बीमांक रकमको बीमा गर्नेले बीमाशुल्कको ५० प्रतिशत अनुदान पाउनेछन् ।  ५० देखि १ करोड रुपैयाँसम्मको बीमांक रकम भए ६५ प्रतिशत अनुदान पाउनेछन भने ५० लाख रुपैयाँभन्दा कम रकमको बीमा गर्दा किसालने ८० प्रतिशत अनुदान पाउनेछन् ।