शीर्षकहरू

रहेनन् पूर्वसभामुख दमननाथ ढुङ्गाना

रहेनन् पूर्वसभामुख दमननाथ ढुङ्गाना

काठमाडौं । नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो उपचारका क्रममा उनको निधन भएको हो ।  

मानवअधिकारवादी, नागरिक समाजको अगुवा र वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका थिए । विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका उनी लेखन, पत्रकारिता र शिक्षण पेसामा पनि सक्रिय थिए ।

आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर सभामुख बनेका थिए । २०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएका उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि भूमिका खेलेका थिए ।

त्यसपछि लामो समय सक्रिय राजनीतिमा नदेखिएका उनी २०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार बनेका थिए । उनलाई नेकपा एमालेका महेश बस्नेतले करिब दोब्बर मतले पराजित गरेका थिए ।

पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित वहसहरु भइरहेको थियो ।