शीर्षकहरू

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई, गीतल राष्ट्रिय पुरस्कार ओम रिजाललाई

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई, गीतल राष्ट्रिय पुरस्कार ओम रिजाललाई

दमौली । भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यको उन्नयनमा उहाँले गर्नुभएको योगदानको कदर गर्दै कवि सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । 

यसैगरी, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि पनि रु २५ हजार छ । साथै रु १० हजार राशिको गीतल राष्ट्रिय पुरस्कार नेपाल सरकारका उपसचिव समेत रहेका हटारुँ उपन्यासका लेखक ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छ । रु पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ ।

यी सबै पुरस्कार आगामी चैतमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।