शीर्षकहरू

बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि : ऊर्जामन्त्री खड्का

बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि : ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।” उनले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरे ।

बङ्गलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बङ्गलादेश सरकारलाई उहाँले धन्यवाद दिए । उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उनको भनाइ थियो । 

ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताए । नेपाल–भारत र बङ्गलादेशबीच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भइ भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यातको अनुमति दिएको थियो । 

आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।

 कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताए । बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताए ।