शीर्षकहरू

साढे ११ घण्टामा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात हुने, पहिलोपटक डलरमा आम्दानी

पुन: निर्यात २०२५ को जुन १५ देखि

साढे ११ घण्टामा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात हुने, पहिलोपटक डलरमा आम्दानी

काठमाडौँ । नेपालले शुक्रबारदेखि तेस्रो मुलक बंगलादेशतर्फ विद्युत निर्यात सुरु गरेको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको सुभारम्भ गरेका छन् । नेपाल र भारतबीचमात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ । 

नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ । 

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४) को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । 

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमश : १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो । केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरुबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरुसमेत हुन् । 

नेपाल विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ । 

प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रुपैयाँ) पाउनेछ । बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने  छ ।

नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।  त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि  प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो । 

कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८०मा  नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्‌को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेश गरेको थियो । प्राधिकरणले पेश गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत्बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।