शीर्षकहरू

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ३५ हजार ९० जनाले पाए शेयर

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ३५ हजार ९० जनाले पाए शेयर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शुक्रवार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ३५ हजार ९० जना आवेदकले शेयर पाएका छन् । 

विक्री प्रबन्धकका अनुसार ३५ हजार ९० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पहिलो चरणमा बाँडफाँट गर्दा बाँकी रहेको ४ दशमलव २५ कित्ता शेयर भने १ कित्ताका दरले ४ जनालाई बाँडफाँट पनि शून्य दशमलव २५ कित्ता शेयर एक जनालाई बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता शेयर निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख ४८ हजार ९१२ आवेदकले १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयर खरीद माग गरेको जानकारी पनि विक्री प्रबन्धकले दिएको छ । 

रितपूर्वक नभएको भन्दै १ हजार ३९९ आवेदकबाट प्राप्त १३ लाख ४७ हजार ५१३ कित्ता शेयर खरीद माग आवेदन भने रद्द भएको छ ।  १३ लाख ४७ हजार ५१३ आवेदकबाट स्वीकृत १ करोड ९६ लाख ६८ हजार २२० कित्ता आवेदन भने स्वीकृत भएको विक्री प्रबन्धकको भनाई छ । 

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको एफपीओ बाँडफाँट गरिएको हो ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गरिएको हो । कम्पनीका अनुसार संस्थापक तर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम एफपीओ विक्री गरी कायम गर्न लागिएको हो । 

१ अर्ब २० करोड अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँभन्दा बढी छ । एफपीओ विक्रीअघि कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख ६ हजार रुपैयाँ थियो । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।