शीर्षकहरू

भोलिबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने, भारतले दियो अन्तिम स्वीकृति

भोलिबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने, भारतले दियो अन्तिम स्वीकृति

काठमाडौं । नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न भारतबाट अन्तिम स्वीकृति पाएको छ । यससँगै भोलिदेखि नै ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गएको असोज १७ गते काठमाडौँमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा नेपालमा उत्पादित बिजुली बंगलादेशमा बिक्री गर्ने त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताअनुसार भारतले अन्तिम स्वीकृति दिएसँगै भोलिदेखि बिजुली निर्यात गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । सम्झौताअनुसार तत्काल बंगलादेशमा प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा  बिजुली बिक्री गर्नेछ।

प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेशलाई बिजुली निर्यात गर्नेछ । पूर्ववत् समझदारीअनुसार पाँच महिनामा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ । प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ ।