शीर्षकहरू

नारायणगढ–बुटवल सडकखण्डको काम ढिला भएको भन्दै प्रधानमन्त्री ओलीले ठेक्का तोड्ने चेतावनी  दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ढिला भएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएका छन् । आज रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो   चेतावनी दिएका हुन् । चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । तर, हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत मात्र काम भएभन्दै प्रधानमन्त्री समक्ष नवलपरासीकै जनप्रतिनिधिले ध्यानाकर्षणपत्र बुझाएका थिए । 

उक्त क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुसँग छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा ठेक्का तोड्नुको अर्को विकल्प नभएको बताए । उनले छलफल गर्दै भने, ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ ।’ 

पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई काम छिटो सक्न कडा निर्देशन दिनुपर्ने बताए ।

प्रधानमन्त्रीसँग अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मा सहभागी रहेका छन् ।