शीर्षकहरू

प्रतिघण्टा नयाँ रेकर्ड बनाउँदै बिटक्वाइन, एउटाको मूल्य १ लाख ५० हजार डलर पुग्ने अनुमान

प्रतिघण्टा नयाँ रेकर्ड बनाउँदै बिटक्वाइन, एउटाको मूल्य १ लाख ५० हजार डलर पुग्ने अनुमान

काठमाडौं । अमेरिकाको राष्ट्रम्पतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता बिटक्वाइनको मूल्यले प्रति घण्टा नयाँ रेडर्क बनाउँदै गएको छ । ट्रम्पको विजयसँगै बिहीबार बिहानसम्म एक बिटक्वाइनको मूल्य ९० हजार डलर पुगेको छ ।

बुधबारसम्म ८६ हजार डलर रहेको मूल्य राति ९२ हजार डलर नाघेको थियो । बिहीबार बिहान भने मूल्य घटेर ९० हजार डलरमा कारोबार भएको छ । ट्रम्पले आफ्नो चुनावी अभियानमा बिटक्वाइनलाई नियमन गर्ने बाचा गरेका थिए । त्यसैले निर्वाचनको सरगर्मी सुरु भएसँगै बिटक्वाइनको मूल्य पनि वृद्धि हुन थालेको हो । एक महिनाअघि मात्रै यसको मूल्य करिब ७० हजार अमेरिकी डलर थियो । 

लगानीकर्ताको अपेक्षाअनुसार ट्रम्पले नै विजय हासिल गरे । त्यसपछि बिटक्वाइन मूल्य तिव्र रुपमा बढेको छ । लगानीकर्ताहरु बिटक्वाइनमा रियल बुल सुरु भएको बताउँछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले चुनावअघि गरेको प्रतिबद्धता अनुसार बिटक्वाइनको नियमन गरे भने केही समयमा यसको मूल्य एक लाख ५० हजार अमेरिकी डलर पुग्ने दाबी गरिएको छ । 

बिटक्वाइनले यसअघि नोभेम्बर २०२१ मा सबैभन्दा उच्च मूल्य कायम गर्न सफल भएको थियो । त्यतिबेला यसको मूल्य ६९ हजार अमेरिकी डलर थियो । त्यतिबेला बिटक्वाइनमा संस्थागत लगानीकर्ता आक्रामक रुपमा देखिएका थिए । २०२१ को मध्यतिर माइक्रोसफ्ट र टेस्ला जस्ता कम्पनीले बिटक्वाइनमा लगानी गर्नु, बिटक्वाइन र क्रिप्टोकरेन्सीप्रति वित्तीय संस्थाहरुको सकरात्मक हुनु, पेपल र क्वायर जस्ता कम्पनीहरुले यसको प्रयोगलाई समर्थन गर्नु, बिटक्वाइन फयूचर्स र इटिएफले बजारमा प्रवेश गर्नुले बिटक्वाइनको वृद्धि हुँदै गएको हो ।

कोभिड १९ ले पनि बिटक्वाइनको मूल्य वृद्धि हुनमा थप सहयोग पुग्यो । विश्वका अन्य कारोबार ठप्प हुँदा क्रिप्टोकरेन्सीमा कारोबार गर्ने बढे । बिटक्वाइनलाई त्यतिबेला ‘डिजिटल गोल्ड’ को रुपमा पनि हेरियो । तर, २०२१ नोभेरम्बरपछि भने बिटक्वाइनको मूल्य घट्न थाल्यो । लगातार घटेको मूल्य २०२२ को जुनमा १७ हजार अमेरिकी डलरसम्म पुग्यो । २०२२ सम्ममा बिटक्वाइन १७ देखि २० हजार डलरको वरिपरि नै घुमी रह्यो । 

२०२१ को मध्यदेखि अन्त्यसम्म चीनले क्रिप्टोकरेन्सी माइनिङ र क्रिप्टो एक्सचेन्जहरुलाई  प्रतिबन्ध लगाउने नीति अपनायो । चीनमा क्रिप्टो माइनिङको ठूलो हिस्सा छ । यस्तो अवस्थामा चीनको कडा नीतिले बिटक्वाइनको मूल्य खस्कन बल पुगेको लगानीकर्ताको विश्लेषण छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको अपनाएको नीतिले त्यतिबेला क्रिप्टोकरेन्सीको आपूर्ति र मागमा असामाज्यता उत्पन्न भयो र मूल्यमा भारी गिरावट आयो ।

त्यस्तै, २०२१ को अन्त्य र २०२२ को सुरुमा संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर बढाउने र मुद्रास्फीति नियन्त्रण गर्ने खालका कठोर मौद्रिक नीति लागू गर्ने संकेत गरे । यस्तो अवस्थामा क्रिप्टोजस्ता जोखिम क्षेत्रमा लगानी गर्ने रकमको उपलब्धता हुन सकेन । फलस्वरुप क्रिप्टोको मूल्य घट्न थप बल पुग्यो । मे २०२१ मा टेस्ला कम्पनीका सीईओ एलन मस्कले विद्युतीय गाडी खरिदमा बिटक्वाइनलाई स्वीकार गरेका थिए । तर, पछि उनले क्रिप्टोकरेन्सीलाई अस्वीकार मात्रै गरेनन्, यसले वातावरणमा नकरात्मक प्रभाव पार्ने अभिव्यक्ति पनि दिए । मस्कको उक्त अभिव्यक्तिले क्रिप्टोको मूल्य झनै घट्यो । 

क्रिप्टोकरेन्सी भनेको के हो ?
क्रिप्टोकरेन्सी भनेको डिजिटल/भर्चुअल मुद्रा हो । जुन क्रिप्टोग्राफी प्रविधिको प्रयोग गरेर सुरक्षित गरिएको हुन्छ । यसको कुनै पनि भौतिक रूप हुँदैन । यो ब्लकचेन -विकेन्द्रीकृत नेटवर्क_ मा आधारित हुन्छ । 

क्रिप्टोकरेन्सीहरू विकेन्द्रीकृत प्रणालीहरूमा आधारित हुने भएकोले कुनै पनि केन्द्रीकृत प्राधिकरण जस्तै सरकार वा बैंकद्वारा नियन्त्रित हुँदैन । यसको सट्टा, ब्लकचेन नामक प्रविधिमा आधारित नेटवर्कले व्यवस्थापन गर्छ । यो नेटवर्कसँगै धेरै कम्प्युटर -नोडहरू_ हुन्छन् । जुन क्रिप्टोकरन्सीको ट्रान्जेक्सन स्थापित गर्छ ।

क्रिप्टोकरेन्सीको प्रयोगकर्ताको पहिचान सधैं गोप्य हुन्छन् । यसको प्रयोगकर्ता र कारोबार गोप्य हुने भएकाले अन्य बजार जस्तै गरी यसमा चलखेल हुने सम्भावनाहरु नहुने लगानीकर्ताहरुको दाबी छ । 

तर, क्रिप्टोकरेन्सीमा जोखिम पनि उतिकै छ । क्रिप्टोमा विश्व भरका मानिसले एकै पटक आफूखुशी कारोबार  गर्न सक्छन् । जसका कारण मूल्यमा छिटो–छिटो तलमाथि हुने गर्छ । क्रिप्टोको विषयमा धेरै मुलुकहरु मौन छन् । यसले कानुनी मान्यता भएको छैन । नेपाललगायतका मुलुकमा क्रिप्टोको कारोबारलाई गैरकानुनी मानिन्छ । 

कसरी हुन्छ क्रिप्टोकरेन्सीको कारोबार ?
क्रिप्टोकरेन्सीको डिजिटल वित्तीय प्रणालीमा आधारित भएर कारोबार गरिन्छ । जसले परम्परागत बैंकिङ र वित्तीय प्लेटफर्महरूलाई प्रतिस्थापन गर्ने प्रयास गरेको छ । विभिन्न मुलुकमा क्रिप्टोकरेन्सी कारोबार हुने एक्सचेन्जहरु खोलिएका छन् । तिनै एक्सचेन्जमा क्रिप्टोको कारोबार हन्छ ।

बिनान्स क्रिप्टो कारोबार हुने सबैभन्दा ठूलो एक्सचेन्ज हो । क्वाइनबेस, क्रयाकिन, कुक्वाइन, जिमिनी क्रिप्टो कारोबार हुने एक्सचेन्जहरु हुन् । लगानीकर्ताले आफनो खाता र एक्सचेन्जको खाता लिंक गर्छन् । कारोबार गर्नका लागि एक्सचेन्जको खाता रकम जम्मा गर्नुपर्ने हुन्छ । सोही रकमको आधारमा लगानीकर्ताले खरिद विक्री गर्न सक्छ । 

बजारमा बिटक्वाइन जस्तै अन्य क्रिप्टोकरेन्सीहरु छन् । जसमा विभिन्न प्रकारका विकल्प क्रिप्टोकरेन्सीहरु समावेश छन् । यद्यपी क्रिप्टोकरेन्सीको बजारमा बिटक्वाइनले प्रमुख स्थान ओगटेको छ । बिटक्वाइनसँगै अहिले अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य र लोकप्रियता बढी रहेको छ । 

इथरियम -इटिएच_ बिटक्वाइन पछिको दोस्रो धेरै मूल्य भएको क्रिप्टो हो । अहिले यसको मूल्य ३ हजार अमेरिकी डलर पुगेको छ । त्यस्तै, बिनान्स -बिएनबि, काडोनो -एडिए, सोलाना-एसओएल, एभलेन्च -एभिएएक्स, पोल्काडोट -डिओटी, टेरा -एलयुएनए, चेनलिङक -एलआईएनके, लाइक्वाइन -एलटिसी, युनिस्वाप -यूएनआई_ इथरियम पछिका धेरै कारोबार हुने क्रिप्टो हुन् । 

कुन-कुन मुलुकमा प्रयोग गरिन्छ क्रिप्टोकरेन्सी?
क्रिप्टोकरेन्सीलाई विभिन्न मुलुकहरुले आ–आफ्नै खालका मान्यता प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही मुलुकहरूले क्रिप्टोकरेन्सीलाई पूर्ण कानुनी मान्यता दिएका छन्, केहीले पूर्ण रुपमा प्रतिबन्ध गरेका छन् भने केही अस्पष्ट नीति अपनाएका छन् । 

साल्भाडोरले क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिएको छ । २०२१ सेप्टेम्बरदेखि साल्भोडोरले यसलाई कानुनी मान्यता दिएको हो । साल्भोडारले यसलाई एक वैध भुक्तानी साधनको रूपमा प्रयोग गर्दै आएको छ । यहाँका व्यापारीहरूले पनि बिटक्वाइनलाई स्वीकार्नुपर्ने हुन्छ । साल्भाडोरले बिटक्वाइनको सहायतामा आफ्नै अर्थतन्त्रलाई स्थिर बनाउन र अमेरिकी डलरको विकल्पको रूपमाको प्रयोग गर्ने योजना बनाएको छ ।

स्विट्जरल्याण्डले पनि क्रिप्टोकरेन्सीको कारोबारलाई मान्यता दिएको छ । स्विट्जरल्याण्डको जग शहरलाई 'क्रिप्टो भ्याली' को रूपमा पनि चिनिन्छ । जहाँ क्रिप्टोकरन्सी र ब्लकचेन प्रोजेक्टहरू विकास भइरहेका छन् । स्विट्जरल्याण्डले क्रिप्टोकरन्सीमा लगानी र व्यापारको लागि स्पष्ट नियम बनाएको छ ।

जापानले पनि जापानले २०१७ मा बिटक्वाइन र अन्य क्रिप्टोकरन्सीलाई वैधानिक रूपमा स्वीकार गरेको हो । जापानले क्रिप्टोकरेन्सीलाई वित्तीय सम्पत्तिको रूपमा मान्यता दिएको छ, र क्रिप्टोकरेन्सी एक्सचेन्जहरूलाई रजिष्टर गर्नुपर्ने नियम छ । 

सिंगापुरले क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिएको छ । यसले ब्लकचेन र क्रिप्टो कारोबारको लागि सकारात्मक वातावरण तयार पारेको छ । सिंगापुर सरकारले सरकार क्रिप्टोकरन्सीको प्रयोगलाई प्रोत्साहित गर्दै सुरक्षा र पारदर्शिता सुनिश्चित गर्नका लागि कडा नियमन गर्दैछ ।

न्युजिल्याण्डले क्रिप्टोकरेन्सीको व्यापारलाई कानुनी मान्यता दिइरहेको छ र यसका लागि कुनै विशेष प्रतिबन्ध छैन । क्रिप्टोकरेन्सीलाई करयोग्य सम्पत्तिको रूपमा मान्यता दिएको छ । जसअनुसार क्रिप्टोको प्रयोग गर्दा उत्पन्न भएको मुनाफा कर योग्य हुन्छ । यसलाई कर्पोरेट र व्यक्तिगत कर प्रणालीमा समावेश गरिएको छ । 

अमेरिकाका विभिन्न राज्यहरूमा क्रिप्टोकरेन्सीमा लगानी गर्न र व्यापार गर्नपाउने कानुनी मान्यता छ । अमेरिकामा सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशन र कमोडिटी फयूचर ट्रेडिङ कमिसले यसलाई नियमन गरेका छन् । 

केन्यामा पनि क्रिप्टोकरेन्सीको प्रयोग बढ्दो छ । त्यहाँको सरकारले अझै क्रिप्टोकरेन्सीलाई कानुनी मुद्राको रूपमा स्वीकार नगरे पनि, यो व्यापार र लगानीका लागि प्रयोग गर्न सकिन्छ । केन्यामा क्रिप्टोकरेन्सी प्रयोगलाई समर्थन गर्दै नियामक ढांचा सुधार्ने प्रयास गरिएको छ ।

त्यस्तै, क्यानडामा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूलाई कानुनी मान्यता प्राप्त छ । क्यानडा सरकारले क्रिप्टोकरेन्सीलाई वित्तीय सम्पत्तिको रूपमा स्वीकार गरेको छ । यसको व्यापार र लगानीलाई कानूनी रूपमा अनुमति दिएको छ । क्रिप्टोकरेन्सी एक्सचेन्ज र व्यवसायहरूले वित्तीय नियमनको पालना गर्नुपर्ने हुन्छ ।

आर्जेन्टिना र ब्राजिलले पनि क्रिप्टोलाई कानुनी मान्यता दिएका छन् । आर्जेन्टिनामा क्रिप्टोकरेन्सीलाई करयोग्य सम्पत्तिको रूपमा मान्यता दिइएको छ । क्रिप्टोकरेन्सीको प्रयोगलाई प्रोत्साहित गर्दै विभिन्न व्यापारीहरूले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीलाई स्वीकार गर्दै आएका छन् । ब्राजिलले सरकारले भने क्रिप्टोकरेन्सीको प्रयोग र व्यापारलाई नियमन गर्दै आएको छ । आगामी दिनहरूमा यसका लागि स्पष्ट नियामक फ्रेमवर्क ल्याउने योजना बनाएको छ ।

तर, नेपाल, चीन, बंगलादेश, अल्जेरिया जस्ता केही मुलुकहरुले क्रिप्टोकरेन्सीमा कडा प्रतिबन्ध लगाएका छन् ।