काठमाडौं । बेलायती सञ्चार माध्यम द गार्जियनले एलन मस्कको कम्पनी एक्स (पहिले ट्विटर) बहिष्कार गर्ने निर्णय गरेको छ । बुधबार निर्णय सार्वजनिक गर्दै द गार्जियनले अब एक्समा कुनै पनि सामग्री पोस्ट नगर्ने निर्णय गरेको जानकारी गराएको छ ।
एक्समा लामो समयदेखि षडयन्त्रपूर्ण सामग्री र जातिवादी पोस्टहरू भइरहेकाले त्यसलाई ध्यानमा राख्दै पत्रकारितालाई अन्यत्र प्रवर्द्धन गर्दै स्रोतलाई अझ राम्रोसँग प्रयोग गर्न यस्तो निर्णय गरेको द गार्जियनले जनाएको छ । विशेगरी अमेरिकी राष्ट्रपति निर्वाचन अभियानलाई इंगित गर्दै उक्त समाचार माध्यमले एक्स एक विशाक्त मिडिया प्लेटफर्म भएको र यसका मालिक एलन मस्कले राजनीतिक बहसलाई आकार दिन यसको प्रभाव प्रयोग गरिरहेको आरोप लगाएको छ ।
आफूहरूले लामो समयदेखि उक्त प्लेटफर्मका प्रचार सामग्री र फेला पारेका तथ्यहरूलाई केलाएर हेरेपछि यस्तो निर्णय गरेको दाबी गार्जियनको छ । द गार्जियनको कुनै पनि आधिकारिक ह्यान्डलबाट आफ्ना सामग्री सार्वजनिक नगर्ने भए पनि अन्य प्रयोगकर्ताले भने ती सामग्री एक्समा शेयर गर्न सक्ने गार्जियनले जनाएको छ ।