शीर्षकहरू

जानाजान अनुपस्थित धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

जानाजान अनुपस्थित धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका तीन जना उम्मेदवारलाई पुन: अन्तर्वार्ताका लागि बोलाइएको छ । सिफारिस समितिले एक सूचना जारी गर्दै उनीहरूलाई आगामी मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरणका लागि बोलाएको हो ।

यसअघि गत असोज १८ गते उनीहरूलाई अन्तर्वार्तामा बोलाइएकोमा अन्तिममा अन्तर्वार्ता स्थगित भएको थियो ।

यसअघि जानाजान अनुपस्थित भएका तीन जना उम्मेदवारहरू बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई आज अर्थमन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, उक्त अन्तर्वार्तामा तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।  अन्तर्वार्तामा सिफारिस समितिका संयोजक रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी नै अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको थियो ।

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।

यसअघि सर्टलिस्टमा परेका तीन जना उम्मेदवार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । तर श्रेष्ठलाई अध्यक्ष बनाउने सेटिङ भएको भन्दै तीन उम्मेदवार अनुपस्थित भएका थिए ।

गत असार तेस्रो साता मन्त्रिपरिषद्‌ बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि सुरु गरेको थियो । पुरानो प्रक्रिया रद्द भएपछि सरकारले विवादीत धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नयाँ समिति गठन गरेर पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको छ ।  

योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार शिवकुमार अधिकारीको संयोजकत्वमा समिति गठन भएको हो ।