काठमाडौँ । पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालमा चिकित्सक पढिरहेकी एक युवतीमाथि पोखरा(५ मालेपाटनका एक युवकले आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । गत कात्तिक २५ गते दिउँसो १२:३० बजे २१ वर्षे अर्बिन कुमार श्रेष्ठले मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनुष्का श्रेष्ठलाई क्याम्पस परिसरभित्रै प्रवेश गरी टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् ।
उनले विगत दुई वर्षदेखि विभिन्न किसिमका मानसिक यातना दिँदै, ज्यान मार्ने धम्की दिँदै, अनावश्यक विवाद सिर्जना गर्दै, गाली बेइज्जत गर्दै ती युवतीलाई कलेजसम्म एक्लै आउन नदिने वातावरण सिर्जना गरेको आरोप युवतीका बुवा अशोकले लगाएका छन् । सामाजिक सञ्जालमा मेसेज गरी अर्बिनकुमारले लामो समयदेखि ती युवतीलाई धम्क्याउँदै आएका थिए । आफूसँग बन्दुक भएको र हत्या गरिदिने धम्की उनले ह्वाट्सएपमार्फत् दिएका थिए ।
उक्त घटनापछि युवतीका बुवा अशोकले कलेज प्रशासनलाई पत्र लेख्दै कानुनी कारबाहीका लागि अनुरोध गरेका थिए । ह्याट्सएपमा पठाइएका धम्कीका मेसेजसहित उनले कलेज प्रशासनलाई पत्र लेख्दै भनेका छन्, ‘निजको डरको कारण मैले छोरीलाई घरबाट कलेजसम्म लाने र ल्याउने गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’
‘आजको भएको घटनाको आधारमा र मैले जानकारी दिएको कुराको आधारमा यस संस्थाबाट कानूनी कारबाही गरि पाऊँ भन्ने निवेदन पेश गरेको छु । साथै, यो निवेदनसँग प्रमाण स्वरूप ह्वाट्सएपका म्यासेजहरू समेत संलग्न गरेको छु, आवश्यक परेको अवस्था मा थप प्रमाणहरू पनि पेश गर्नेछु ।’
त्यपश्चात कलेजले जिल्ला प्रहरी कार्यालय कास्कीमा कारबाहीका लागि उजुरी दिएको थियो । क्याम्पस हाता भित्रै प्रवेश गरी टाउकोमा प्रहार गरी घाइते बनाएको उक्त घटनाले विद्यार्थीलाई पनि त्रसित बनाएको र कलेजको शान्ति र सुरक्षा नै भंग भएको भन्दै घाइते विद्यार्थीका अभिभावकले कानुनी सहायता दिन अनुरोध गरेकाले निजलाई हदै सम्मको कानूनी कारबाही गरि पाऊँ भन्दै कलेजले उजुरी दिएको थियो ।
ती युवतीलाई विभिन्न प्रकारका मानसिक यातना दिइरहेको, ज्यान मार्ने धम्की दिइरहेको र यसबाट अनुष्का श्रेष्ठलाई मानसिक र शारीरिक दुःख भएको कलेजले दिएको उजुरीमा उल्लेख छ । उक्त उजुरीपछि प्रहरीले आरोपी अर्बिन कुमारलाई पक्राउ गरेको छ । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यदि अपराधी अर्विनलाई हदैसम्म कारबाहीको फैसला नभएमा नेपाल भरका चिकित्सक विद्यार्थीले देशव्यापी आन्दोलनको तयारी गरिहेको नेपाल मणिपाल शिक्षण अस्पतालका विद्यार्थीहरुले बताएका छन ।