शीर्षकहरू

लाइन काटिएका सबै उद्योगमा जोडियो बिजुली

लाइन काटिएका सबै उद्योगमा जोडियो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका सबै उद्योगमा बिजुली जोडेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि उक्त निर्णयलाई कार्यान्वयन गर्नेगरी मंगलबार बसेको सञ्चालक समिति (बोर्ड) बैठकको निर्णयअनुसार डेटिकेटड तथा ट्रंकलाइन विवादमा काटिएका उद्योगमा पुन: विद्युत् लाइन जोडिएको हो ।

प्राधिकरणले पछिल्लो समय ३४ उद्योगको लाइन काटिएकोमा ती सबै उद्योगमा लाइन जोडिएको प्राधिकरण प्रवक्ता  चन्दनकुमार घोषले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने र सोमबार १२ बजेसम्म विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय लिखित रुपमा आएपछि उक्त निर्णय कार्यान्वयन गर्ने बताएको प्राधिकरणको बैठक सोमबार कोरम नपुगेर स्थगित भएपछि हिजो बसेको थियो । सोमबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले  लाल आयोगको प्रतिवेदन भने सार्वजनिक गरेको थियो । प्रतिवेदनमा  'प्राधिकरणले गरेको हिसाबै नमिलेको' उल्लेख गरिएको छ ।

आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको सभाहल, रत्नपार्कमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन के विषयमा गर्न लागिएको हो भन्ने जानकारी भने उनले गराएका छैनन् ।