काठमाडौं । मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन भएको छ ।
आज २७८८ को बिन्दु छोएर नेप्से परिसूचक २७४८.९६ अंकमा झरेको हो । सोमबार २७६५.७ अंकमा बन्द भएको बजार आज खुलेसँगै बढ्न थालेको थियो । यसैक्रममा दिउँसो १२ बजेर ३ मिनेटमा २७८७.९ बिन्दुमा पुगेपछि नेप्से ओरालो लागेको हो ।
आज नेप्से परिसूचक ११.२४ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स १.९३, फ्लट इन्डेक्स ०.७३ र सेन्स्टिभ फ्लट इन्डेक्स ०.५४ अंकले ओरालो लागेको छ । आज फाइनान्स, निर्जीवन बीमा, र व्यापारबाहेक अन्य १० उपसमूहको शेयर घटेको छ ।
नेप्से घटेपनि आज गुराँस लघुवित्त वित्तीय संस्था र मेन्छियाम हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । यस्तै समृद्धि फाइनान्सको शेयर ९.६१ प्रतिशतले वृद्धि भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । सोमबार ११ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ।