काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र खरीदगर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्न लागेकाले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र खरीद गर्न पाउने भएका हुन ।
कम्नपीले मंसिर ११ गतेदेखि यो हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर पुस १ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
बिक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाईन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।