शीर्षकहरू

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड

काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा फाउन्डेसनले उक्त अवार्ड पाएको हो । 

एभरेष्ट कम्युनिटी नेटवर्क (ईसीएन) परियोजना सञ्चालन गरेर डिजिटल सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरेवापत फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड पाएको छ । समुद्र सतहदेखि ४ हजार मिटरको उचाईमा नेपाल इन्टरनेट फाउन्डेसनले इको टुरिजम प्रवर्द्धन, वातावरण संरक्षण र इन्टरनेट जडान दिन खुन्दे र खुम्जुङ गाउँमा एभरेष्ट कम्युनिटी नेटवर्क स्थापना गरेको छ । 

परियोजनाले यी बस्तीहरूमा इन्टरनेट जडान गर्दै स्थानीय शेर्पा समुदायलाई डिजिटल उपकरण र स्रोतहरू उपलब्ध गराएर दुर्गम हिमाली गाउँहरू खुन्दे र खुम्जुङमा डिजिटल विभाजनलाई कम गर्न विशेष भूमिका खेलेको छ ।

गत अगस्ट १६ मा नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा आएको विनाशकारी बाढीको समयमा एभरेष्ट कम्युनिटी नेटवर्क सञ्चार प्रक्रियामा ठूलो भूमिका खेलेको थियो ।