काठमाडौं । आइतबार दुई वाणिज्य बैंकसहित तीन कम्पनीहरुले संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडले ३ लाख २५८ कित्ता , सिटिजन्स बैंक इन्टरनेशनलले २५ हजार कित्ता र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार ७३५ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका हुन । तीन कम्पनीमध्ये सिटिजन्स बैंकले भने शेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकेको छ ।
यी कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न पाउनेछन् । आगामी ३५ दिनभित्र माछापुच्छ्रे बैंकको शेयर खरीदका लागि भने शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय सुन्धारा,काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । सिटिजन्स बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय नारायणहिटी, काठमाडौं र डिप्रोक्स लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय सितापाईला, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट यी शेयर खरीद माग नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी सम्बन्धित कम्पनीहरुले सूचनामार्फत गराएका छन् ।