काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष खुद नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ४२ लाख १२ हजार रुपैयाँ खुद नोक्सानीमा गएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी ५१ लाख ३० हजार रुपैयाँभन्दा बढी खुद नाफामा रहेको थियो । यस वर्ष खुद ब्याज आम्दानी ९० प्रतिशत कम भएको छ । गत वर्ष २ करोड २ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष २० लाख रुपैयाँभन्दा बढी मात्र खुद ब्याज आम्दानी गरेको हो । खराब कर्जा संकलन कम भएसँगै यस वर्ष कम्पनीको खुद नाफामा असर परेको हो । सञ्चालन नोक्सानी भने यस वर्ष घटेको छ ।
गत वर्ष २ करोड ३० लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनी यस वर्ष ८८ लाख ५० हजार रुपैयाँभन्दा बढी मात्र सञ्चालन नोक्सानीमा रहेको हो । सम्भावित जोखिम शिर्षकमा गत वर्ष ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी छुट्याएको कम्पनीले यस वर्ष ७२ लाख २४ हजार रुपैयाँ मात्र छुट्याएका हो । खराब कर्जा संकलन भने गत वर्ष ३ करोड ११ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४६ लाख ३८ हजार रुपैयाँभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख रुपैयाँ छ भने जगेडा कोष रकम २ करोड ३६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
कम्पनीले पहिलो त्रैमाससम्म २६ करोड ५२ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने कर्जा प्रवाह ४ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ । निक्षेप संकलन भने यस अवधिसम्म १३ करोड ७६ लाख रुपैयाँभन्दा बढी रहेको छ । निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेकोमा यस वर्ष घटेर ४ दशमलव ४८ प्रतिशत कायम भएको छ । वार्षिक २८ रुपैयाँ ६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २०३ रुपैयाँ ६४ पैसा छ ।