काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म घलेम्दी हाइड्रो लिमिटेडले ७४ लाख ७४ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म ३ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो । अघिल्लो त्रैमाससम्म पनि कम्पनीले ७ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीले विद्युत विक्रीबाट ४ करोड ६६ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी २ करोड ३ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष अन्य आम्दानी १ करोड १५ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीको कुल आम्दानी गत वर्षभन्दा बढेको छ । गत वर्ष अन्य आम्दानी भएको थिएन । वित्तीय खर्च पनि यस वर्ष घटेको छ ।
गत वर्ष २ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष २ करोड ४ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने १९ करोेड ९४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ७० करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने १७ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको दिर्घकालिन कर्जा ८६ करोड ७५ लाख रुपैयाँभन्दा बढी थियो भने अल्पकालिन कर्जा ८ करोड ७५ लाख रुपैयाँभन्दा बढी थियो । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४५ पैसा र प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा छ ।