पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज (शनिबार) पोखरामा आज सम्पन्न भएको हो । संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरिन् ।
‘सहकारीलाई जीवन्त, दिगो, बलियो र संस्थालाई अगाडि बढाउन सबैको भूमिका महत्वपूर्ण रहेको हुन्छ, अध्यक्ष कोइरालाले भनिन्, ‘सहकारीलाई जीवन्त बनाउन कुनै एक सञ्चालक, लेखा समिति, शेयर सदस्य, कर्मचारी र शेयर सदस्यहरुले आफ्नो भुमिका पूरा गर्न सके मात्र सहकारीलाई अगाडि बढाउन सकिन्छ । सहकारीलाई दिगो बनाउन सहकारी ऐन कानूनमा रहेर काम गर्न सके मात्र सहकारी दिगो रहन्छ ।’
वर्तमान अवस्थामा केही सहकारीमा देखा परेको समस्याका कारण राम्रा काम गरिरहेका सहकारीलाई अप्ठ्यारो पारेको उल्लेख गरिन् । ‘अहिले जनमानसमा सहकारी प्रति अविश्वास बढ्दै गएको छ । चोकचोकका चिया पसलदेखि चौतारासम्म सहकारीका कुराहरु हुन्छन्’, उनले भनिन्, ‘वर्तमान अवस्थामा केही सहकारीमा देखा परेका समस्याका कारण सहकारी नियम कानुनमा रहेर चलेका सहकारीमासमेत त्यसको असर देखिएको छ ।’
उनले केही गलत मनशाय राखेर सञ्चालन गरिएका सहकारी र स्वार्थी व्यक्तिहरुले सहकारीको ऋण तिर्न पर्दैन भन्ने गलत भाष्यका कारण सहकारीहरु समस्यामा परेको धारणा राखिन् । सहकारीले आम्दानीलाई उत्पादनशिल क्षेत्रमा लगानी गरेर स्वारोजगार कामलाई अगाडि बढाउन समेत सुझाव दिइन् । शेयर सदस्य धर्मराज पन्थीले सरकारले अहिले सहकारीलाई समस्या ग्रष्ट र समस्यामा परेका दुवै सहकारीलाई एउटै बाकसमा राख्दा समस्या देखिएको बताए ।
‘अहिले सहकारीलाई सरकारले दुई भागमा वर्गिकरण गरेको छ, समस्या ग्रष्ट सहकारी र समस्यामा परेका सहकारी भनेर छुट्टाएको छ, शेयर सदस्य पन्थीले भने, ‘सरकारले समस्या ग्रष्ट सहकारी र समस्यामा परेका सहकारीलाई एउटै बाकसमा राखिएको छ जसका कारण समस्या समाधानमा कठिनाई देखिएको छ ।’ उनले संस्थामा गलत व्यक्तिहरु हाबी हुँदा सहकारीहरुमा समस्या देखिएको भएपनि हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थामा त्यो अवस्था नरहेको उल्लेख गरेका थिए ।
संस्थाको १५ औं वार्षिक साधारणको अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीले एसइई एवम् विभिन्न तहको परिक्षामा उत्कृष्ट अङ्क लिएर पास हुने कृति लामिछाने दृश्य पन्थी, सुजन ढकाल, पुजा विक, दिपिका कुमारी शर्मा, निश्चल कार्की, गोविन्दनाथ योगी, आयुष तिवारी, अनुपम रिजाल, कपिल दाहाल, सृजना अधिकारी क्षेत्री, प्रतिभा अधिकारी , जेनिशा मल्ल, सुरक्षा दाहाल, जिया राना, राहुल शर्मा, सुवेक्षा भण्डारी, सम्रात गुरुङ सम्मानित भए ।