काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरे पनि चाडपर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण गोपाष्टमीको अवसरमा आयोजित कार्यक्रममा सम्पन्न गरिएको हो ।
मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले समितिलगायत समिति अन्तर्गतका पशुपति गौशाला धर्मशालाबाट प्रदान भइरहेका सेवा कार्यको जानकारी दिने क्रममा धर्मशालाले २०५४÷५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिए । उनका अनुसार यसबाट हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका ६ हजार ७०० जना लाभान्वित भएका छन् । आगामी दिनमा पनि निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम निरन्तर रहने उनले बताए ।
धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोलाइलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराइरहेको छ । धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवाबाट हालसम्म ३२४ बिरामीलाई २७ हजार ९७५ पटक डाइलाइसिस गरिसकिएको छ । हाल १९५ बिरामीले निःशुल्क लाइलाइसिस गराइरहेको पनि उनले जानकारी दिए ।
‘दैनिक ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ,’ धर्मशालाका अध्यक्ष तापडियाले भने । यसका अलावा धर्मशालाले हरेक शनिबार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण, शववाहनको निःशुल्क सेवा, मेला र पर्वमा तिर्थालुलाई निःशुल्क भोजन र आवासलगायत सेवा पनि प्रदान गर्दै आएको अध्यक्ष तापडियाले जानकारी दिए ।
मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको छ । काठमाडौंको मारवाडी समुदायले ८४ वर्षअघि नै गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको उनले बताए । काठमाडौंको गौशालामा २५० र समितिअन्तर्गत धादिङको धार्केस्थित मारवाडी सेवा ग्राम गौधाममा २५० गाईको संरक्षण भइरहेको छ । धादिङमा बृद्ध अवस्थाका गाईहरु संरक्षित छन् ।
उनका अनुसार मोरङको मारवाडी समुदायले श्री रंगेली गौचर गौशाला र श्रीकृष्ण गो सेवा सदनमार्फत गौ संरक्षणको काम गरिरहेको छ । रंगेली गौचर गौशाला २०३७ सालदेखि सञ्चालनमा छ । जनकपुरमा २०१० सालदेखि सीताराम गौशाला सञ्चालनमा छ ।अन्य गौशालाहरुले पनि गोपाष्टमीमा विशेष अनुष्ठान सम्पन्न गरेका छन् । यीगौशालाहरुले मारवाडी समुदायमा सीमित गोपाष्टमी पर्व मनाउने चलनलाई सबै हिन्दु समुदायमा विस्तार गर्ने गरी काम गरिरहेको छ ।
गोपाष्टमीसँग जोडिएको पौराणिक मान्यता
गोपाष्टमी भगवान श्रीकृष्णसँग जोडिएको छ । पुराणमा उल्लेख भएअनुसार नन्द महाराजले आफ्ना छोरा भगवान श्रीकृष्ण र बलराम ६ वर्षको भएपछि उनहरुलाई पहिलोपटक यही दिन गाई चराउन जाने अनुमति दिएका थिए । यसै दिनदेखि श्रीकृष्ण र बलराम गाईगोठाला बनेका थिए ।
अर्को मान्यता अनुसार भगवान श्रीकृष्णले आफ्नो कान्छी औंलाले गोवद्र्धन पर्वत उठाएर वृन्दावनबासीलाई मुसलधारे वर्षामा पर्वतमुनिको ओडारमा आश्रय दिए थिए। आठौं दिन वर्षा गराउने पानी नै सकिएपछि भगवान इन्द्रले आफूले गल्ती गरेको महसुस गर्दै पराजय स्वीकार गरे र श्रीकृष्ण भगवानसँग माफी मागे । त्यसपछि सुरभी नामकी गाईले श्रीकृष्ण र इन्द्र दुवैलाई दूधले नुहाइ दिए । यसै दिनदेखि कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीको रुपमा मनाउन थालिएको पौराणिक मान्यता छ ।