काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन। काठमाडौं विश्वविद्यालयले प्राडा मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका छन ।
कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे । ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं । अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ ।’ उनले भने ।
काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्राडा अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताए । साथै उहाँले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।