काठमाडौं । बुधबार नेपाल पुनर्बीमा कम्पनीले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँस्थित होटल क्राउन इम्पेरियरमा भव्य समारोह आयोजना गरेको थियो । समारोहमा प्रमुख अथितिका रुपमा निम्त्याइएका थिए नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल । वार्षिक उत्सवको समारोह भए पनि जब अध्यक्ष सिलवालले आफ्नो मन्त्व्य सुरु गरे त्यहाँको अवस्था पृथक देखियो ।
कार्यक्रममा अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीको कार्यसम्पादन कमजोर भएको भन्दै आलोचना मात्रै गरेनन् कडा रुपमा प्रस्तुत हुँदै कर्मचारीलाई हकारे पनि । सरकारी स्वामित्वको कम्पनी भएकै कारण कम्पनी व्यावसायिक रुपमा अगाडि बढ्न नसकेको टिप्पणी उनले गरे । अध्यक्ष सिलवालले कम्पनीले सरकारले अनिवार्य गरिदिएका व्यवसाय गरेर मात्रै नपुग्ने धारणा राख्दै भने, ‘सरकारले अनिवार्य गरेका व्यवसाय मात्रै गरेर पुग्छ । यो कम्पनी त रकम राख्ने र निकाल्ने जस्तो मात्रै भएको छ । यसरी व्यवसाय अगाडि बढ्न सक्दैन । आफैले पनि बजारीकरण गर्नुपर्छ ।’
कर्मचारीहरूले कम्पनी सरकारी स्वामित्वमा रहेको भन्दै बजारमा रवाफ जमाएको आरोप पनि उनले लगाए । नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । यस कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत स्वामित्व छ । संस्थागत लगानी ३९.९६ प्रतिशत छ भने पब्लिकको १६ प्रतिशत लगानी छ ।
नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी भएकाले सरकारले बीमा कम्पनीहरुलाई पुनर्बीमा गर्दा पहिलो प्राथमिकता नेपाली पुनर्बीमा कम्पनीलाई दिनु पर्ने व्यवस्था गरेको छ । नेपालको पुनर्बीमा कम्पनीले स्वीकार गर्न नसकेको अवस्थामा विदेशी कम्पनीसँग पुनर्बीमा गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै प्रत्यक्ष तर्फकको निश्चित प्रतिशत बीमा नेपालको पुनर्बीमा कम्पनीमा नै गर्नुपर्ने व्यवस्था छ । त्यसैले कम्पनीले व्यवसायका लागि सरकारकै मुख ताकेर बसेको अध्यक्ष सिलवालले आरोप लगाएका हुन् ।
कम्पनीको दाबी भुक्तानी प्रक्रिया पनि सुस्त भएको उनको भनाइ थियो । ‘हामीकहाँ धेरै सिकायत छ । कम्पनीको भुक्तानी सुस्त छ भनेर । तपाईँहरुले बीमा कम्पनीसँग राम्रो सम्बन्ध बनाउन सक्नुभएको छैन । नाफा मात्रै कमाउने हैन । रणनीति बनाएर काम गर्नुपर्छ,’ उनले भने । स्टेजमा रहेका कम्पनीका अध्यक्ष र पूर्व प्रमुख कार्यकारी अधिकृततर्फ हेर्दै उनले सोधे, ‘आजसम्म तपाईहरुले कतिवटा तालिम सञ्चालन गर्नु भएको छ ? कति जनालाई दक्ष बनाउनु भएको छ ? बीमा कम्पनीहरुसँग राम्रो सम्बन्ध नराख्ने । अनि हामी सरकारी कम्पनी हौ भनेर मात्रै बस्ने । मेरो पालामा यो सबै स्वीकार्य हुँदैन ।’
सरकारी र निजी कम्पनीका लागि प्राधिकरणको नियम एउटै हुने समेत उनले बताए । नेपाल पुनर्बीमा कम्पनीपछि निजी क्षेत्रको लगानीमा नेपालमा हिमालयन रिइन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको छ । सरकारले सरकारी बीमा कम्पनी भनेर नेपाल पुनर्बीमा कम्पनीलाई दिएको सुविधा प्राधिकरणका अध्यक्ष सिलवालले निजी क्षेत्रबाट खोलिएको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पनि वितरण गरेपछि उनको आलोचना भएको थियो । आफ्नो उक्त निर्णय स्वभाविक देखाउन बल गर्दै कार्यक्रममा अध्यक्ष सिलवालले दुवै कम्पनीको लागि प्राधिकरणको नियम एउटै हुने बताए ।
अध्यक्ष सिलवालले कम्पनी व्यक्तिको पछि लाग्दै हिँडेको समेत आरोप लगाए । नेपाल पुनर्बीमा कम्पनीमा पूर्वअध्यक्ष डा.रवीन्द्र घिमिरे र निवर्तमान प्रमुख कार्यकारी अध्यक्ष शंकर रायमाझी र प्राधिकणका अध्यक्ष सिलवालबीच तालमेल थिएन । प्राधिकरणले कोरोना दाबीको रकम भुक्तानी प्राधिकरणले दिएको निर्देशन नियमविपरीत भएको भन्दै भुक्तानी गरेका थिएनन् ।