शीर्षकहरू

दिव्यश्वरी हाइड्रोपावर करिब ७० लाख नाफामा

दिव्यश्वरी हाइड्रोपावर करिब ७० लाख नाफामा

काठमाडौं । दिव्यश्वी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ४ लाख ९५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो । अघिल्लो त्रैमाससम्म यो कम्पनी ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

वित्तीय खर्च बढी हुँदा गत असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढी भएको थियो । गत असार मसान्तसम्म कम्पनीले वित्तीय खर्च शिर्षकमा ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्चिएको थियो । पहिलो त्रैमाससम्म भने कम्पनीको वित्तीय खर्च कम भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।

यस वर्ष कम्पनीले वित्तीय खर्च शिर्षकमा १ करोड ४३ लाख रुपैयाँभन्दा बढी मात्र खर्चिएको छ । विद्युत विक्री आम्दानी पनि गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष ३ करोड ४६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २९ करोड ८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक देखिन्छ । अल्पकालिन कर्जा ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको दिर्घकालिन कर्जा भने ५६ करोड १० लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १० रुपैयाँ ४५ पैसा छ । कम्पनीका पूर्व कर्मचारीहरुले पारिश्रमिक भुक्तानीका सम्बन्धमा चित्त नबुझी कम्पनी विरुद्ध श्रम अदालत, काठमाडौंमा हालेको मुद्दा फैसला उपर कम्पनीलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा कम्पनीले मुद्दा हालेको उल्लेख गरेको छ ।

उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको कम्पनीको भनाई छ । साथै आयोजको सिभिल निर्माण कार्यका ठेकेदारले डिजाईन नक्सा अनुरुप कार्य नगरी कम्पनीलाई क्षति पुगेकाले सम्झौता अनुसार हर्जाना भराई पाउँ भनी पाटन उच्च अदालतमा मुद्दा दायर भएको समेत कम्पनीले जानकारी दिएको छ । उक्त मुद्दा  पनि हाल विचाराधीन अवस्थामै रहेको कम्पनीको भनाई छ ।