शीर्षकहरू

पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको : अर्थविद्

पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको  : अर्थविद्

काठमाडौं । अर्थविद् एवं राजनीतिक विश्लेषक डा.गोपिलाल न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि व्यवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजना साक्षात्कारलाई सम्वोधन गर्दै उनले पञ्चायतकाल, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा अर्थ–व्यवस्थाको चरित्र भने उस्तै रहेको बताएका हुन् । उनले नियन्त्रित अर्थतन्त्रले देशको विकास हुनै नसक्ने दाबी गरे । 

‘हामीले राजनीतिक परिवर्तन चाहीँ गर्यौं । तर, आर्थिक परिवर्तन गर्न सकेनौं । मान्छेको जीवनमा हामीले परिवर्तन गर्न सकेनौं । हामीले व्यवस्था चाहीँ त्यही राखिरह्यौं, अर्थतन्त्र चाहीँ हामीले त्यही नियन्त्रित अर्थतन्त्र राखिराख्यौं,’– अर्थविद् डा. न्यौपानेले भने । 

साथै, वर्तमान अर्थव्यवस्थाको चरित्रले भ्रष्टाचार नियन्त्रण हुनै नसक्ने उनको दाबी छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपाल फ्रि एण्ड ओपन कम्पिटेटिभ मार्केट इकोनामीमा  जानुपर्ने, करको दर घटाउनुपर्ने, सरकारको साइज र कर्मचारीतन्त्रलाई सानो बनाउनुपर्ने उनको सुझाव छ । राज्यले निर्माण गरेको पब्लिक पोलिसीको खराबीका कारण अहिले जनताले दुःख पाइरहेको उनको भनाइ छ । 

फरक प्रसंगमा अर्थविद् न्यौपानेले नेपाल पञ्चायत कालदेखि अहिलेसम्म भूमिगत गिरोहबाट सञ्चालित भइरहेको टिप्पणी गरे । उनले अहिले निर्वाचित जनप्रतिनिधिहरू बुख्याँचाजस्तै रहेको र देश ‘डीप–स्टेट’ बाट चलिरहेको बताए । 
‘नेपाल ‘डीप स्टेट’ बाट चलेको देश हो । हिजो पञ्चायतकाल पनि डीप स्टेटले चलायो । बुहदलीय काल पनि डीप स्टेटले चलायो र आज पनि डीप स्टेटले सञ्चालन गरेको देश हो । निर्वाचित प्रतिनिधि त बुख्याचामात्रै हुन् । ती कानुनी प्रतिनिधिमात्रै हुन् । तिनले यो देश चलाएको छैन । म सूर्यबहादुर थापालाई सम्झन्छुु । सूर्यबहादुर थापाले एकचोटी भन्नुभएको थियो– भूमिगत गिरोह भनेर,’ अर्थविद् न्यौपानेले भने, ‘ठ्याक्कै त्यही शब्द गिरिजाप्रसाद कोइरालाले पनि प्रयोग गर्नुभएको छ । अहिलेका नेतासँग चाहीँ त्यो हिम्मत छैन, भन्दैनन् । त्यसैले नेपाल डीप स्टेटबाट गाइडेड भइरह्यो र हामीले त्यसलाई डिकन्स्ट्रक्सन गर्दैनौं, जबसम्म त्यसको नेटवर्कलाई समाप्त गर्दैनौं तबसम्म यो देशमा समस्या भइरहन्छ ।’
 
काठमाडौं, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको लागि संसदीय व्यवस्था नै अभिश्राप बनेको बताएका हुन् । संसदीय व्यवस्था अन्त्य नभएसम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताए । उनले २००७ सालदेखि नेपाल संसदीय व्यवस्थाको अभिश्रापबाट बाहिर निस्कन नसकेको बताए । 
 
‘यो संसदीय व्यवस्था भ्रष्टाचारको लागि र भ्रष्टाचार संसदीय व्यवस्थाको लागि नै हो । यही हो हाम्रो जड, यो व्यवस्था नफ्याँकेसम्म व्यक्ति, पार्टी, नेता परिवर्तन गरेर केही फरक हुनेवाला छैन । किनभने आज भ्रष्टाचारको पैसाबाट जित्छन्, संसद्मा पुग्छन्, संसद्बाट अर्को भ्रष्टलाई मन्त्री बनाउँछन् । प्रधानमन्त्री पनि भ्रष्ट, मन्त्री पनि भ्रष्ट । यो साइकलबाट हामी निस्किन सकिरहेका छैनौं । यसलाई खत्तम नपारी कुनै हालतमा भ्रष्टाचार अन्त्य हुनसक्दैन,’– उनले भने । 

संसदीय व्यवस्थाको अन्त्य गरेर अब प्रत्यक्ष  कार्यकारी प्रणालीमा जानु्पर्ने उनको भनाइ छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउने र संसद् बाहिरबाट विज्ञ मन्त्रीहरु बनाउन आवश्यक रहेको बताए । ‘हामीले अब कार्यकारी व्यक्तितिर नगई हुँदैहुँदैन । मन्त्रीहरु सबै संसद् बाहिरबाट ल्याउने, पोलिसी बनाउनका लागि सानो संसद बनाउने, हामीले कार्यकारी राष्ट्रपति व्यवस्थामा जानुपर्छ,’– उनले भने ।

साथै, उनले संसदीय व्यवस्थाबाट आजित भएर जनताले राजालाई स्पेस दिन खोजिरहेको बताए । उनले अहिले धेरै जनतामा त्यो प्रकारको चाहना रहेको दाबी गरे । संसदीय व्यवस्थाको विकल्प नखोज्ने हो भने जनताले विकल्प खोज्ने उनको भनाइ छ । ‘राजालाई कुनै स्पेस दिने हो भने, अहिले त्यो चाहना मान्छेमा देख्छु म, घर–घरमा त्यो चाहना छ । कमसेकम राजपरिवारसँग २ सय वर्षको अनुभव छ । उनीहरुले कही न केही सल्लाह, सुझाव दिनसक्छन्,’– उनले भने । 

अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए । 

‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ । सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आम नागरिक, अम जनतालाई दैनिकीमा गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले बस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन,’– अर्थविद् अधिकारीले भने । 

गत सालको तु्लनामा खाद्यन्नको बजार मूल्य दोब्बरसमेत भएको उनले बताए । खाद्यन्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको उनको टिप्पणी छ । हाम्रो जस्तो अर्थतन्त्रमा कूल ग्राह्यस्थ उत्पादनमा ऋणको अंश ३५ प्रतिशत भन्दा धान्न सक्ने क्षमता छैन । तर, अहिले ४४ प्रतिशत पुगिसकेको छ । नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भएर हात, पाखुरा चाहीँ बलियो भइरहेको उनले टिप्पणी गरे । सरकारले अर्थतन्त्रको महत्वपूर्ण पक्षहरु चाहीँ कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । ‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैन,’– उनले भने ।