अन्धकारमाथि विजयको आनन्द दिन उज्यालोको पर्व दिपावली हाम्रो घरदैलोमा आइपुगेको छ । आफ्नो घरलाई सफा, सुन्दर, आकर्षक र चिट्टिक्क पारेर उज्याला बत्तीहरु बाल्दै हुनुहन्छ होला । तर झिलिमिली बत्ती बाल्दा केही कुरामा ध्यान पनि दिनुपर्छ ।
तिहारमा दियो बत्ती, मौनबत्ती बाल्दा हावा नलाग्ने, सफा, खुला र घरका कुनामा बाल्नुपर्छ । दियो बत्तीको वरिपरि छिटो आगो समात्ने प्रज्वलनशील पदार्थ जस्तै मट्टितेल, पेट्रोलियम पदार्थ आदि राख्नु हुँदैन । झिलिमिली बत्ती प्रयोग गर्दा राम्रो गुणस्तरीय खालको बत्ती मात्र प्रयोग गर्ने गर्नुपर्छ, अन्यथा सर्ट सर्किट भएर घरमा आगो लाग्न सक्छ ।
बत्ती जडान गर्दा सधैं मेन स्वीच बन्द गरेर मात्र गर्ने, यसो नगरेको खण्डमा करेन्ट लाग्ने सम्भावना प्रबल हुन्छ । झिलिमिली बत्ती जडान गर्दा दक्ष व्यक्तिबाट जडान गराउने । अग्ला भवन, अपार्टमेन्ट, टावरमा बत्ती जडान गर्दा सिडी, सु्रक्षा बेल्ट र हेल्मेट आदि प्रयोग गरेर मात्र गर्ने ।
बच्चाहरु उज्यालोका सौखिन हुन्छन् । अझ झन् झिलिमिली बत्ती हुँदा त उनीहरु दिउँसै पनि बत्ती बाल्ने, हेर्ने, आफ्ना उमेरका साथीहरुलाई मेरो घरमा यस्तो लाइट छ भने देखाउने गर्दछन् । यसकारण कहीँकतै पनि नाङ्गो तार नछोड्ने र स्वीच बक्स बच्चाहरुले नभेट्ने ठाउँमा राख्ने गर्नुपर्छ ।
निरन्तर रुपमा लामो समयसम्म बत्ती बाली राख्नाले सर्ट सर्किटको समस्या हुन सक्छ । त्यसैले बत्ती आवश्यकता बमोजिम प्रयोग गर्ने, राम्रोसँग चेकजाँच गरेर मात्र झिलिमिली बत्ती प्रयोग गर्ने, सम्भव भए वाटरप्रुफ झिलिमिली बत्तीको प्रयोग गर्ने गर्नु फलदायी हुन्छ ।