काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि रणनीति तय गरेको छ । त्यसका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएको जनाइएको छ ।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव तीन प्रतिशतले राजस्व वृद्धि भएको छ ।
सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको राजश्व उठाउने लक्ष्य राखेको छ । त्यसमा कर राजश्व मात्रै १२ खर्ब ८४ अर्ब रुपैयाँ बराबर छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आजसम्म दुई खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यो कूल लक्ष्यको १९ दशमलव २२ प्रतिशत हो ।