काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका-१७ की निर्मला कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका लागि गत साउन २५ देखि आन्दोलनरत रुबी खानसँग सरकारले वार्ता गरेको छ । वार्ता क्रममा सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ ।
निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर मिति २०८१ साउन २५ गतेदेखि आन्दोलनरत खान र गृह मन्त्रालयका प्रतिनिधिबीच निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षवीच मिति २०८१ आषाढ १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत . जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने । विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने, आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने र उल्लिखित प्रकरणका सम्बन्धमा विभिन्न माग राखी आन्दोलनरत पक्षले आजैबाट आन्दोलन अन्त्य गर्ने सहमति भएको छ ।
सहमतिमा सरकारका तर्फबाट उपसचिव दिल कुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले हस्ताक्षर गरेका छन् ।
२०७८ असोज १ गते बाँकेदेखि हिँड्दै २० औँ दिनमा काठमाडौँ आएका रुबी खान समूह न्यायका लागि काठमाडौँ आएको यो पाँचौँपटक हो । पहिलोपटक ४२ दिन अनशन बसेपछि सरकार निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्युबारे छानविन समिति गठन गर्न बाध्य भए पनि हालसम्म पनि कुर्मी र धोबीलाई न्याय दिलाउनेगरी सरकारले पहल सुरु गरेको थिएन ।
भएको के थियो?
रुबी खानको समूह तीन वर्षदेखि दुईवटा आपराधिक घटनामा न्यायका लागि लडिरहेको छ । दाइजोका नाममा यातना दिएर हत्या गरिएकी नकुन्नी धोबी र सम्पत्तिका नाममा दुई छोराको शंकास्पद मृत्युपछि मारिएकी निर्मला कुर्मीका न्यायका लागि । उनै कुर्मीका हत्या आरोपी हुन् मन्त्री बादशाह कुर्मी ।
२०७८ साउन ५ गते नकुन्नी आफ्नै घरभित्र मृत फेला परिन् । रामकुमार नाम गरेका व्यक्तिको तेस्रो श्रीमतीका रुपमा भित्रिएकी नकुन्नीको उनकै परिवारले हत्या गरेको आरोप रुबी र नकुन्नीका भाइ माताप्रसादको छ ।
उक्त मुद्दामा दाइजोको निउँमा रामकुमार र उनको परिवारले नकुन्नीको हत्या गरेको आरोप रुबीको छ । तर यस मुद्दामा प्रहरी संवेदनशील नभएको र अनुसन्धान नभएको आरोप उनको छ । सोही घटनामा महिला अधिकारकर्मी र स्थानीयले जिल्ला प्रशासन कार्यालय बाँकेमा १९ दिन धर्ना दिए । तर छानबिन अघि बढेन । बरु, त्यसैबीच अर्को घटना घट्यो– बाँके परस्पुर १७ की निर्मला कुर्मीको हत्या ।
निर्मलाका श्रीमान महालु कुर्मीको २०६२ मा मृत्यु भयो । त्यसको चार वर्षपछि २०६६ मा निर्मलाले आफ्ना दुवै सन्तान १० दिनको फरकमा गुमाइन् । कुनै रोग र घटनाबिना शंकास्पद तरिकाले निर्मलाका दुवै छोराको मृत्यु भएको अभियन्ता रुबी बताउँछिन् । २०६६ माघमा निर्मलाले महिला अधिकार मञ्च बाँकेको कार्यालय पुगेर जेठाजु पर्ने बादशाह कुर्मीले आफूलाई हिंसा गरेको भन्दै उजुरी दिइन् । उजुरी दिएको पर्सिपल्ट बादशाहले निर्मलालाई लतारेर कुटपिट गरेको आरोप रुबीको छ । उक्त भिडिओ गत वर्ष सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जसमा बहालवाला प्रदेशमन्त्री बादशाह कुर्मीले एक महिलालाई लतारेर कुटपिट गरेको देखिन्छ ।
निर्मलाको नाममा ५ बिघाभन्दा बढी जमिन रहेको र त्यही जमिन हत्याउन बादशाहले उनलाई यातना दिएको रुबीको भनाइ छ । उक्त जग्गाको मूल्य हाल ६ करोडभन्दा बढी रहेको छ ।
यसैबीच एकाएक २०७५ मा निर्मला बाँकेबाट बेपत्ता भइन् । बेपत्ता नै ठानिएकी निर्मलाको दाहसंस्कार गरिसकेको तस्वीर रुबीहरूले काठमाडौंमा प्रदर्शन शुरु गरिसकेको केही महिनापछि मात्रै सार्वजनिक भएको थियो । कुर्मीलाई बाँके, बर्दिया, कैलाली र भारतमा लगेर बन्धक बनाई अन्तत: हत्या गरिएको आरोप अधिकारकर्मीको भनाइ छ। सोही मुद्दामा रुबीलगायत बाँकेका स्थानीय महिला अधिकारकर्मीहरूले तीन वर्षयता आन्दोलनरत छन् ।