काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजारका सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक ४६.६९ अंकले बढेर दुई हजार ६९२.०५ बिन्दुमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ८.३३ अंक, फ्लट इन्डेक्स ३.३७ र सेन्सेटिभ फ्लट इन्डेक्स २.९० अंकले बढेको छ । आज २२१ कम्पनीको शेयरमूल्य बढेकोमा १७ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।
मंगलबार सप्तकोशी विकास बैंक, सानीमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्माल हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । यसैगरी कर्पोरेट विकास बैंक र समाज लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।