शीर्षकहरू

८० हजार घुसहित पक्राउ परे झापा बुद्धशान्ति २ का वडाअध्यक्ष

८० हजार घुसहित पक्राउ परे झापा बुद्धशान्ति २ का वडाअध्यक्ष
तस्वीर गाउँपालिकाको वेबसाइटबाट

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली घुससहित पक्राउ परेका छन् । 

सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी  कार्यका लागि घुस/रिसवत लिइसकेको अवस्थामा ईलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको टेलिफोन मार्फत प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार घुसहित पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा ओलीले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गर्न गराउन सेवाग्राहीसँग घुसररिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारले बताएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो असी हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।