शीर्षकहरू

पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ५७ करोड बीमा शुल्क आर्जन गरे

पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ५७ करोड बीमा शुल्क आर्जन गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ११  अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनी र चार वटा लघु बीमा कम्पनीले सो रकम बराबरको बीमा व्यवसाय गरेका हुन् । 

समीक्षा अवधिमा कम्पनीहरूले सात लाख ३७ हजार ९३० वटा पोलिसी जारी गरेका छन् । लघु बीमा कम्पनीले मात्रै भने ६९ हजार ७९० वटा पोलिसी जारी गरेका छन् भने निर्जीवन बीमा कम्पनीले ६ लाख ६८ हजार १४० वटा पोलिसी जारी गरेको छ । 

शिखर, सिद्धार्थ र सगरमाथाले गरे अर्ब भन्दा माथिको व्यापार

चालु आवको पहिलो त्रैमास अवधिमा तीन वटा निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब रुपैयाँ भन्दा माथिको व्यापार गरेका छन् । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एक अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६९ हजार ७४७ वटा पोलिसी जारी गरेको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ७४ हजार ७८९ वटा पोलिसी जारी गरेको छ । 

शिखर इन्स्योरेन्सले एक अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ७३ हजार ९३४ पोलिसी जारी गरेको छ । 

हिमालयन एरभेष्ट र आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी पनि अर्ब नजिक पुगेका छन् । समिक्षा अवधिमा हिमालयन एभरेष्ट इन्योरेन्स कम्पनीले ९१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ५८ हजार १७३ वटा पोलिसी जारी गरेको छ । आइजिआई प्रडेन्सियल कम्पनीले भने ९० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीको ६७ प्रतिशत व्यापार काठमाडौंमा नै केन्द्रित

निर्जीवन बीमा कम्पनीको ६७ प्रतिशत व्यापार काठमाडौंमा नै केन्द्रित हुने गरेको पाइएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमास अवधिमा कम्पनीहरूले ७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क बाग्मती प्रदेशबाट संकलन गरेका छन् ।  यो रकम कुल बीमा शुल्कको ६७ प्रतिशत हो । सरकारले  बीमा कम्पनीहरूलाई गाउँमुखी बनाउन खोजे पनि कम्पनीहरू भने शहर केन्द्रित नै भएको तथ्यांकले देखाएको छ । 

कोशी प्रदेशबाट भने कम्पनीहरूले ९५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका छन् । मधेश प्रदेशबाट ७५ करोड ६५ लाख, गण्डकी प्रदेशबाट ६३ करोड १८ लाख, लुम्बिनी प्रदेशबाट ९९ करोड ६६  लाख, कर्णाली प्रदेशबाट  ९ करोड ५८ लाख र सुदूरपश्चिम प्रदेशबाट २६ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

त्यस्तै, कम्पनीहरूले सम्पति बीमाबाट तीन अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सामुन्द्रिक बीमाबाट ६२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् भने हवाई बीमबाट ५४ करोड ७१ लाख रुपैयाँ संकलन गरेका छन् । 

मोटर बीमाबाट तीन अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । इन्जिनियरिङबाट एक अर्ब ४१ करोड, विविधबाट एक अर्ब ४३ करोड, कृषिबाट ५८ करोड ३८ लाख र लघुबीमाबाट १९ लाख १२ करोड रुपैयाँ आर्जन गरेका छन् ।