शीर्षकहरू

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन् । आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर) समेत पठाइसकेको जानकारी उनले दिएका छन्छ । केही खाली रहेका नगर/गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ ।

‘नौ/नौ-दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ,’ मन्त्री गुप्ताले भने, ‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसररअधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ ।’

पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपूर पहलकदमी लिइरहेको उनको भनाइ छ ।

एकैचोटी ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब आफूले झेलेको भन्दै उनले सुनाए, ‘म बोल्ने भन्दा पनि काम गरेर देखाउने इच्छा बोकेर मन्त्रालय आएको हुँ । कामको सन्दर्भमा आउने यस्ता दबाबको अगाडि झुक्ने बानी मेरो छैन र झुक्दिनँ पनि ।’ यस्तै, उनले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय–सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी पनि दिए ।