शीर्षकहरू

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि विक्री खुला

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि विक्री खुला

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एफपीओ विक्री गर्न गत असोज २९ गते अनुमति दिएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गर्न लागेको हो । कम्पनीका अनुसार संस्थापक तर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाा बराबरको एफपीओ विक्री गर्न लागिएको हो ।

 यो एफपीओ छिटो अवधि कात्तिक २० गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक २६ गतेसम्मको मिति तय गरिएको छ । तर धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी मूल्य कायम रहेको कम्पनीले १०० रुपैयाँमै एफपीओ विक्री गर्ने भएकाले पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने निष्श्चित छ । यसर्थ कम्पनीको एफपीओ छिटो अवधि कात्तिक २० गतेसम्म मात्र विक्रीमा रहनेछ । खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको एफपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले एफपीओ निष्कासनमा लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले इक्रा एनपी इस्युअर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । यस रेटिङले वित्तीय दायित्व बहन गर्ने क्षमता कम्पनीको मध्यम स्तरको रहन्छ भन्ने संकेत गर्दछ । 

१ अर्ब २० करोड अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख ६ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ कायम हुनेछ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । सो अवधिसम्म कम्पनीको सञ्चित नाफा भने ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ ।