शीर्षकहरू

कास्की प्रहरीले भन्यो : रविमाथि दुर्व्यवहार भएको छैन, भ्रामक र झूटो प्रचार नगर्नू

कास्की प्रहरीले भन्यो : रविमाथि दुर्व्यवहार भएको छैन, भ्रामक र झूटो प्रचार नगर्नू

काठमाडौं । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाएपछि प्रहरीले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ ।

आइतबार जिल्ला प्रहरी कास्कीका नायब उपरीक्षक वसन्त कुमार शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त आरोपबारे खण्डन गरेका हुन् । 'नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शव्दको प्रयोग नगरेको, ईजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ । नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ ।'

कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गर्न पनि जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुरोध गरेको छ ।