शीर्षकहरू

अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन, मिलेर काम गरे नेपालको विकास सम्भव छ : प्रधानमन्त्री

अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन, मिलेर काम गरे नेपालको विकास सम्भव छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैरआवासीय नेपाल सङ्घ (एआरएन) ले आइतबार काठमाडौँमा गरेको गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नै नभएको बताएका हुन् । 

‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, प्रधानमन्त्रीको भनाइ छ ।  प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।

उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’

आफू सन् १९९९ तिर मा मस्को जाँदा डा. उमेन्द्र लामिछानेसँग गैह्र आवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कन्जुस्याइँ नगर्ने पनि स्पष्ट पारे । फरक प्रसङ्गमा उनले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउन लगाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की नदिन चेतावनी दिए ।