शीर्षकहरू

सानिमा बैंकले प्रस्तावित लाभांश मंसिर ४ गते पारित गर्दै

सानिमा बैंकले प्रस्तावित लाभांश मंसिर ४ गते पारित गर्दै

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ४ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक १० गतेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकले कात्तिक ९ गते लाभांश स्वीकृत गरेसँगै वार्षिक साधारण सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे आम्रपाली बैङक्वेट, भाटभटेनी , काठमाडौंमा सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिन कात्तिक २२ गते बिहीबार छठको सार्वजनिक विदा परेकाले कात्तिक २१ गते बुधवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

यस वर्ष कम्पनीले ११ वर्षपछिकै कम लाभांश वितरण गर्न लागेको हो । यस अघि आर्थिक वर्ष ६७÷/६८ मा ६ दशमलव ५ प्रतिशत र ०६८/६९ मा ५ दशमलव ५ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो । त्यसपछिका वर्ष कम्पनीले १० प्रतिशतभन्दा बढीनै लाभांश वितरण गर्दै आएको थियो ।

गत वर्ष कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि ५ दशमलव ७ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ७ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ७१ करोड ४८ लाख २२ हजार रुपैयाँ बराबर कर समेत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यस अघिको ११ वर्षको तथ्याङ्कलाई हेर्दा कम्पनीले अधिकतम २१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ ।

आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट पनि १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।