शीर्षकहरू

पहिलो किस्ता तिरेपछि प्राधिकरणले जोड्यो दुई उद्योगमा बिजुली

पहिलो किस्ता तिरेपछि प्राधिकरणले जोड्यो दुई उद्योगमा बिजुली
बिहीबार लाइन काट्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुलको पहिलो किस्ता बुझाएपछि दुई उद्योगको लाइन जोडेको छ । प्राधिकरणले बिहीबार डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ मध्ये ३४ उद्योगको लाइन काटेको थियो ।

प्राधिकरणले दिएको अन्तिम दिन (बिहीवार) सम्म पनि उद्योगीले बक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले लाइन काट्न सुरु गरेकोमा शुक्रबार पहिलो किस्ता बुझाएपछि  जीबी टेक्स्टाइल र जीबी टेकटाइलको लाइन जोडेको हो ।

जीबी टेकटाइलले ३५ लाख ३७ हजार र जीबी टेकटाइल १४ लाख १२ हजार रुपैयाँ बक्यौता बुझाएपछि लाइन जोडिएको हो ।

प्राधिकरणले बिहीबार साँझदेखि नै लाइन काट्न सुरु गरेको हो । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । पछिल्लोपटक असोज २४ गते फूलापतीका दिन १५ दिनको म्याद दिएर प्राधिकरणले बक्यौता रहेका ४९ वटा उद्योगको नाम सार्वजनिक गरेको थियो । उक्त सूचनापश्चात् किस्ताबन्दीमा तिर्न तयार भएर किस्ताबन्दीको सुविधा लिएका ६ उद्योग लाइन काटिनबाट जोगिए ।

यसैगरी ७ वटा उद्योगले अदालतबाट स्टे अर्डर लिएकाले ती पनि लाइन काटिनबाट जोगिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पहिले नै अदालतबाट स्टे अर्डर लिएकाले प्राधिकरणले ती उद्योगको लाइन नकाटेको हो ।

यसैगरी दुई सरकारी उद्योग टौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको पनि बिजुली काटिएको छैन । सरकारी स्वामित्वका भएकाले हिसाब मिलानका लागि प्राधिकरणले सरकारसँगै समन्वयका लागि प्रयास गर्ने भएको प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङले जनाएका छन् ।