शीर्षकहरू

काठमाडौँमा ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान

काठमाडौँमा ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान

काठमाडौं । केही  दिनयता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ । पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै कारवाहिको साथै सचेतना जगाउने काम गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश: हर्नको प्रयोगमा केही वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाइका साथ कारवाही समेत गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ । कानुनी व्यवस्था हुँदा हुँदै पनि कतिपय चालकहरुले लापरवाही गरी वा ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ । 

अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदुषणलाई कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । काठमाडौं उपत्यकामा गुड्ने करिव १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँ सँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठुलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले बताए ।

कारवाहीसँगै चोक चोकमा प्ले कार्ड देखाएर चालकहरुलाई थप सचेत गराउने प्रयत्न भैरहेको पनि उनले बताए ।