शीर्षकहरू

बाढी पहिरोले क्षति भएका पूर्वाधार निर्माण गर्न भारतले सरकारले दियो ३८ ट्रक बेलिब्रिजका सामाग्री

बाढी पहिरोले क्षति भएका पूर्वाधार निर्माण गर्न भारतले सरकारले दियो ३८ ट्रक बेलिब्रिजका सामाग्री

काठमाडौं । गत असोजमा आएको बाढी पहिरोले क्षतिग्रस्त भएका नेपालमा सडक तथा पुल निर्माणका लागि भारतले सरकारले ३८ ट्रक बेलिब्रिजका सामग्रीहरू दिएको छ । भारत सरकारले  हालसम्म ४८.५ मिटर र ७० मिटरका ३८ ट्रक बेलिब्रिजका सामग्रीहरू उपलब्ध गराएका हो । भारतले दिएको सामाग्री सडक विभागले प्राप्त गरी हेटौँडा स्थित सडक डिभिजनको कम्पाउन्डमा राखिएको छ । साथै थप बेलिब्रिजका सामानहरू आउने क्रम जारी रहेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । 

बिहीवार मन्त्री दाहालका १०० दिनको प्रगति सार्वजनिक गर्न आयोजन पत्रकार सम्मेलनमा मन्त्री दाहालले ५५ उपलव्धी प्राप्त गरेको विवरण पेश गरेका छन् । मन्त्री दाहालले गत असोजमा आएको बाढीले क्षति भएका भौतिक संरचनाको पुर्न निर्माण गर्न थप १५ अर्ब १६ करोड रुपैंया लाग्ने प्रारम्भिक अनुमान रहेको बताएका छन् । 

सुनकोशी नदी पुल, खुर्कोटको एक स्पान बगाएकोमा हेटौडा एवं लहानबाट बेलिब्रिज ढुवानी गरी नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न भई कार्तिक ६ गते बाट यातायात सुचारु भएको बताएको छ । 

पृथ्वी राजमार्ग (नागढुंगा–मुग्लिंग खण्ड) को विभिन्न स्थानमा पहिरो गई सडक अवरोध भएकोमा असोज १४ गते देखि दुई तर्फी नै यातायात संचालन गरिएको बताएका छन् । 

दोलखाको किर्नेटार (खिम्ती जलविद्युत आयोजनाको पावरहाउस भएको स्थान) को करिब ८०० मिटर सडक बगाई यातायात अवरोध भएकोमा जलविद्युत आयोजनाको परिसरबाट वैकल्पिक सडक निर्माण गरी बर्दिबासबाट काठमाण्डौ आउने सवारी साधनलाई असोज १६ गतेबाट संचालनमा ल्याईएको बताएका छन् । 

कान्ति राजपथको टिकाभैरवदेखि बागमती पुलसम्मको विभिन्न स्थानमा पहिरो तथा बागमती पुलको एक स्पान सहित ३०० मिटर एप्रोच सडक बगाई यातायात अवरोध भएकोमा बागमती पुलमा अस्थायी संरचना निर्माण गरी असोज २२ गते देखि यातायात संचालन गरिएको छ । 

बीपी राजमार्गको चौकीडाँडा देखि नेपाल थोक खण्डको विभिन्न स्थानमा पहिरो गई १२ किमी सडक वासआउट भएकोमा विभिन्न स्थानहरुमा अस्थायी डाईभर्सन निर्माण गरी असोज २५ गते देखि एकतर्फी यातायात संचालन गरिएको उनले बताए । 

मेची राजमार्गको माईखोला ईलाम खण्ड लगायत विभिन्न स्थानमा पहिरो तथा हेवा खोलाको बेलिब्रिज बगाई यातायात अवरोध भएकोमा हेवा खोला तथा सिमलखोला–तिल्केनी खण्डको माई खोलामा अस्थायी डाईभर्सन निर्माण गरी असोज २५ गते देखि यातायात संचालन गरिएको छ । 

अरनिको राजमार्गको विभिन्न स्थानमा पहिरो तथा लिपिंगको पक्कि पुल र लार्चा बेलिब्रिज वासआउट भई यातायात अवरोध भएकोमा लार्चा खोलामा अस्थायी डाईभर्सन निर्माण गरी असोज १९ गते देखि यातायात संचालन गरिएको, कोदारी बजारसम्म असोज २१ गते देखि यातायात सुचारु गरिएको छ । लिपिंग खोलाको पुलमा बेलिब्रिज जडानको लागि दमौलीबाट बेलिब्रिज ढुवानी गरी तातोपानीमा पुगिसकेको साथै जडानको लागि नेपाली सेनाबाट कार्य शुरु भएको मन्त्री दाहालले बताएका छन् । 

मन्त्री दाहालले १०० दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्य मध्ये ८ ओटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको बताएका छन् ।