शीर्षकहरू

बाढी पहिरोको कारण बीमा कम्पनीमा परेको दाबीमध्ये ३० करोड ३६ लाख भुक्तानी

बाढी पहिरोको कारण बीमा कम्पनीमा परेको दाबीमध्ये ३० करोड ३६ लाख भुक्तानी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोले बीमा कम्पनीहरूमा परेको दाबीमध्ये ३० करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कार्तिक ६ गतेसम्म ११ वटा कम्पनीले २६१ वटा दाबीको भुक्तानी गरेका हुन् । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूले सम्पति बीमा दाबीमध्ये १३५ वटा दाबीको २६ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । इन्जिनियरिङग तथा ठेकेदार जोखिममा परेको दाबीमध्ये २ वटा दाबी बापत तीन लाख २६ हजार रुपैयाँ भुक्तानी गरेका छन् । 

मोटर बीमा (निजी) तर्फको परेको दाबीमध्ये ८४ वटा दाबी बापत कम्पनीहरूले दुई करोड २९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । मोटर बीमा (सार्वजनिक) को २१ वटा दाबी बापत कम्पनीहरूले ९१ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेका छन् । 

सामुद्रिक बीमामा परेको दाबीमध्ये एउटा दाबी बापत कम्पनीहरूले नौ हजार रुपैयाँ भुक्तानी गरेका छन् । कृषि बाली बीमाको १३ वटा दाबी बापत १० लाख १२ हजार रुपैयाँ भुक्तानी भएको छ । पशुपन्छी बीमाको चार वटा दाबीको दुई लाख ३० हजार रुपैयाँ भुक्तानी भएको छ । 

गत असोज १० देखि परेको अविरल बर्षाका कारण आएको बाढी पहिरो भएको भौतिक क्षतिमध्ये निर्जीवन बीमा कम्पनीहरुमा नौ अर्ब ५४ करोड रुपैयाँ दाबी परेको थियो । कम्पनीहरूमा परेको कुल तीन हजार ३०६ वटा दाबीमध्ये एक हजार ६३६ वटा सम्पति बीमाको दाबी परेको थियो । सम्पति बीमामा सात अर्ब ३१ करोड रुपैयाँ दाबी परेको थियो । 

इन्जिनियरिङग बीमामा २७५ दाबी बापत एक अर्ब ७४ करोड रुपैयाँ दाबी परेको थियो । मोटर बीमा (निजी) मा ८३५ वटा दाबी बापत २६ करोड ७७ लाख रुपैयाँ दाबी परेको थियो । मोटर बीमा (सार्वजनिक) मा ३३८ वटा दाबी बापत १६ करोड १२ लाख रुपैयाँ दाबी परेको थियो । 

सामुन्द्रिक बीमा बापत २५ वटा दाबी बराबर दुई करोड २८ लाख रुपैयाँ दाबी परेको थियो भने कृषि बालि बीमामा ५४ वटा दाबी बापत एक करोड १९ लाख रुपैयाँको दाबी परेको थियो । पशुपन्छी र विविधमा भने क्रमश एक करोड १२ लाख रुपैयाँ र ५५ लाख रुपैया दाबी परेको थियो ।