शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद पछिको मूल्य तय

लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद पछिको मूल्य तय

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार कम्पनीको हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गर्दै हकप्रद शेयर पछिको शेयरमूल्य प्रतिकित्ता १ हजार १०१ रुपैयाँ ८५ पैसा तोकेको हो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ९८८ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले हकप्रद निष्कासनको मिति तय गर्न बाँकी रहेपनि बुक क्लोजको मिति भने कात्तिक ९ गते एक दिनका लागि तय गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद खरीदका लागि योग्य हुने भएका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत असोज १४ गते उक्त हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । कम्पनीलाई बोर्डले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.५ अर्ब पुग्नेछ ।