शीर्षकहरू

मूल्य आकाशिएपछि सूनको खपत आधाले घट्यो, नयाँ किन्ने भन्दा पुरानै मोडेर लगाउने बढे

मूल्य आकाशिएपछि सूनको खपत आधाले घट्यो, नयाँ किन्ने भन्दा पुरानै मोडेर लगाउने बढे

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड बनाउन थालेको छ । लगातार सात दिनसम्म नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य बिहीबार भने सामान्य घटेर स्थानीय बजारमा प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । 

सुनको मूल्य आकाशिएसँगै स्थानीय बजारमा सुनको खपत आधाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव अर्जुन रसाइलीले बताए । नेपालमा चार्डपर्व र विवाहको सिजनमा सुनको मूल्य बढी खपत हुने गर्छ । तर, यो वर्ष भने सुनको खपत आधाले घटेको उनको दाबी छ । 

रसाइलीका अनुसार यसअघिका चार्डपर्व र विवाहको सिजनमा दैनिक २५ देखि ३० किलोसम्म सुन खपत हुन्थ्यो । तर, यसपटक १० देखि १५ किलो मात्रै सुन खपत भएको उनले बताए । सुनको मूल्य बढेपछि सुन खरिद गरेर लगाउने ग्राहकको संख्या घटेको छ । ‘अहिले ५५ प्रतिशत ग्राहकले पुरानो गहनालाई मोडेर नयाँ डिजाइन बनाएर लगाउन थालेका छन् । कतिले त पुरानै गहनालाई सफा गरेर लगाएका छन्,’ उनले भने ।

यस्तै अवस्था रहे अबको ५/६ महिनाको सुनको मूल्य दुई लाख रुपैयाँ भन्दा बढी हुने अनुमान व्यवसायीको छ । इजरायल र प्यालेष्टाइन बीचको द्वन्द्वले उग्र रुप लिँदैछ । युक्रेन र रुस, इजरायल र प्यालेस्टाइन, इरान र लेबनानबीचको द्वन्द्वले तेस्रो विश्व युद्धको संकेत गरेको छ । त्यसैले अझै केही समय यो अवस्थामा परिवर्तन आउने देखिँदैन । यही अवस्था रहे सुनको मूल्य झन बढ्ने रसाइलीले दाबी गरे । 

अन्तर्राष्ट्रिय गतिविधिले बढायो सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा हुने गतिविधिले स्थानीय बजारमा सुनको मूल्यमा उतार चढाव आउने महासचिव रसाइली बताउँछन् । ‘अन्तर्राष्ट्रिय मुलुक बीचको द्वन्द्व, आर्थिक गतिविधि र विकासले पनि स्थानीय बजारमा सुनको मूल्य घट्ने वा बढ्ने हुन्छ,’ उनले भने । 

गत वर्षदेखि जारी प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वले विश्वकै अर्थतन्त्रमा प्रभाव पारेको छ । यसको प्रत्यक्ष असर सुनको मूल्यमा पनि परेको उनको भनाइ छ । सुनको मूल्य बढ्नुमा युरोपेली र अमेरिकी मुलुकका बैंकहरुले ब्याजदर पनि रहेको उनले बताए ।

‘केही समयदेखि युरोपेली र अमेरिकन मुलुकमा बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकको ब्याजदर घटेपछि बचतकर्ताले रकम निकालेर सुनमा लगानी गर्न थालेका छन् । सुनमा लगानी बढेपछि स्थानीय बजारमा यसको मूल्य पनि बढेको हो,’ उनले भने ।

त्यस्तै, केही मुलुकहरू अहिले डलरको भाउ कमजोर बनाउनतर्फ लागेका छन् ।  भारत, रुस र चीनले धमाधम सुनमा लगानी गर्न थालेका छन् । फलस्वरुप सुनको माग बढेपछि सुनको मूल्य बढेको महासचिव रसाइलीको दाबी छ । 

कसरी र कहाँबाट आउँछ नेपालमा सुन ?
नेपाल राष्ट्र बैंकको अनुमतिमा बैंकर्स एसोसियनले नेपालका वाणिज्य बैकहरुले दैनिक २० किलो सुन विक्री गर्ने अनुमति दिन्छ । बैकहरुले साताको पाँच दिनका लागि १०० किलो सुन एकमुष्ट रुपमा आयात गर्छन् । आयात गरिएको सुन महासंघको सिफारिसमा जिल्लाका संघ पनि वितरण हुन्छ  । 

नेपालका बैंकले मुख्य गरी दुबईबाट सुन आयात गर्छन् । दुबईको विकल्पमा हङकङ र सिंगापुरबाट आयात गर्ने गरेका छन् । बैंकहरुले अहिलेको दशैँका लागि १८० किलो र तिहारको लागि १०० किलो आयात गरेको उनले बताए । 

नेपाल सरकारले विदेशबाट फर्किँदा पनि निश्चित कोटासम्मको सुन ल्याउन पाउने सुविधा दिएको छ । विदेशबाट नेपाल आउँदा नेपाली महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सुन ल्याउन पाउँछन् । यस्तो सुन गहना बनाएर लगाउनुपर्नेछ । तर, विदेशमा रहँदा आफूले लगाइरहेको सुन पनि लगाएर आउने चलन छ । 

भन्सार शुल्क घटाउन व्यवसायीको लबिङ
सरकारले सुनमा लगाउँदै आएको भन्सार शुल्क घटाउन नेपाल सुन चाँदी व्यवसायी महासंघले सरकारसँग लबिङ गर्दै आएको छ । भारतले सुन आयात ६ प्रतिशत भन्सार लगाउँदै आएको छ भने नेपाल सरकारले २० प्रतिशत भन्सार शुल्क लगाउँदै आएको छ । जसका कारण नेपाली बजारमा सुनको मूल्य थप बढेको महासचिव रसाइलीले बताए । 

नेपालमा सुनको आयातमा २० प्रतिशत भन्सार शुल्क लाग्छ भने ०.५/०.५ बैक र व्यवसायीको मार्जिन हुन्छ । कुल २१ प्रतिशत थप शुल्क ग्राहकले भुक्तानी गर्नुपर्ने हुन्छ । जसका कारण विदेशी बजारको तुलनामा नेपालको बजारमा सुनको मूल्य ३५ हजार बढी हुने गरेको उनले बताए ।  

महासंघले सुन आयातमा ८ देखि १० प्रतिशत भन्सार शुल्क तोक्न सरकारलाई आग्रह गरेका छन् । सरकारले भन्सार शुल्क घटायो भने नेपालमा सुनको मूल्य १२ हजार रुपैयाँसम्म कम हुने उनले बताए । 

भन्सार शुल्क घटाउने विषयमा अर्थमन्त्रालय सकरात्मक रहेको महासंघको दाबी छ । ‘सम्भवत तिहार पछि क्याबिनेटले निर्णय गर्नेछ,’ उनले भने ।  

त्यस्तै, नेपालमा चाँदी व्यवसायी आफैले ल्याउन पाउँछन् । आफनै उद्योग हुनेले तीन लाख डलर बराबरको चादी ल्याउन पाउँछन । पसल मात्रै हुनेले एक  लाख डलर बराबरको सुन आयात गर्न पाउँछन् भने खुद्रा व्यापारीले बैकबाट २० किलोसम्म खरिद गर्न पाउँछन् ।

चालु आवको दुई महिनामा सुन धितोबापत ६१ अर्ब ४२ करोड कर्जा प्रवाह
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा बैंकहरुले सुन धितोमा राखेर ६१ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले सहायक प्रवक्ता डिल्ली राम प्रोख्रेलले अघिल्लो आवको सोही अवधिको तुलनामा चालु आवको समीक्षा अवधिका कर्जा प्रवाह बढेको बताए । चालु आवको गत आवको तुलनामा १७  प्रतिशतले सुन धितो कर्जा बढेको बताए । गत आवको समीक्षामा बैंकले सुन धितोमा राखेर ५२ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

केन्द्रीय बैंकले सुन धितोमा राखी ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । बैंकहरुले ६० देखि ८० प्रतिशतसम्म सुनको धितोमा कर्जा उपलब्ध गराउँदै आएका छन् । सुन धितोमा राखी प्रवाह गरिने कर्जालाई सुरक्षित लगानी पनि मानिन्छ । सुनको मूल्य उपलब्ध गराउने कर्जाबीचको मार्जिन ३० देखि ५० प्रतिशतसम्म फरक हुने भएकाले जोखिम कम हुन्छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकको सुन मूल्याङ्कनकर्ताले तोकेको सुनको मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जाको अवधिमा एक वर्षसम्म हुनेछ । त्रैमासिक आधारमा ब्याज भुक्तानी गर्न सकिनेछ । यस्तो कर्जामा बैंकले ९.०२ देखि ११.०२ प्रतिशत ब्याजदर तोकेको छ । 

केही वाणिज्य बैंकहरुले पनि सुन धितोमा कर्जा दिने गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले सुनको बजार मूल्यको ८० प्रतिशत कर्जा दिने गरेको छ ।  यस्तो कर्जाको अवधि १ वर्षको हुनेछ । बैंकले ८.५२ देखि १२.५१ प्रतिशत ब्याजदर तोकेको छ । 

नेपाल बैंकले सुन चाँदी धितो कर्जामा ६.८६ देखि १०.८६ प्रतिशत ब्याजदर तोकेको छ । कृषि विकास बैंकले ७.३० देखि ११.३० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले ९.४३ देखि ११.४३ प्रतिशत ब्याजदर तोकेको छ । माछापुच्छ्रे बैंकले ९.६१ देखि ११.६१ प्रतिशत ब्याजदर तोकेको छ ।